रामकुमार एलन
नेपाली पत्रकारिता विस्तारै संकटमा परिरहेको छ । लामो समयदेखि पत्रकारितामा क्रियाशीलका परिवार पेट पाल्नसक्ने अवस्थामा छैनन् । पत्रकारिताकै कारण हाम्रो इमान–इज्जत लुट भयो, हाम्रो खाइपाइ आएको सुविधा लुटियो, जनताले थाहा पाए भनेर सबै पत्रकारलाई लखेट्न तयार भएका छन् । यो त समाजमा देखिभोगिआएको विषय भयो । पत्रकारले नराम्रो लेख्छन्, नराम्रो मात्रै देख्छन् । पत्रकारले नलेखेको भए सरुवा हुन्थेन, घुस्याहा भन्ने थाहा पाउँथेनन् । मिलाएर बजेट पचाएको बाहिर आउँथेन । यस्तै–यस्तै अनेक विषयहरु छन् । जुन कुरा त्यहीँ भागवण्डामा हिसाब नमिलेपछि पत्रकारसम्म आउँछ, पत्रकारले समाचार बनाउँछन् । त्यसपछि त्यहाँबाट ‘सूचना चुहाउनेहरु ‘खुच्चिङ’ मलाई भाग नदेको पाइस् नि उपहार’ भनिरहेका हुन्छन् । सत्रुता भने पत्रकारसँग हुन्छ । पत्रकारले लेखेपछि समाज जागृत हुनु पर्ने हो । तर समाज पनि अचेल एकतर्फी हुँदै गएको छ ।
पत्रकारिताका केही अनुभवहरु सुनाएँ । उहिले जिल्ला विकास समिति हुन्थ्यो । अहिले जिल्ला समन्वय समिति छ । अन्तरजिल्ला विकास भ्रमण भनेर एकपटक मकवानपुर जिविसबाट बर्दियामा भ्रमण गए । त्यहाँ भ्रमण गएकामा कुनै आपत्ति थिएन । तर बर्दिया गएको टोलीका एलडिओ (स्थानीय विकास अधिकारी) नै भारत पुगेर बद्री केदारनाथतिर गएर बाबुको श्राद्ध गर्न थालेछन् । यता, जिविसबाट भ्रमण भत्ता लिने र घुम्न जाने, उता भारत पुगेर बाबुको श्राद्ध गर्ने काम राज्यदोहन हो भनेर समाचार लेखियो । बाबुको श्राद्ध गर्दा पनि पत्रकारले लखेटे भने । केही समयअघिकै कुराका हो, इलाममा बाल विकास केन्द्रको अध्ययन अनुगमन भ्रमण भनेर म स्वयम् पनि पुगेँ । इलामको बालविकास मकवानपुरसँग मिल्न पर्छ र ? पर्दैन नि । हाम्रो बालविकास त चितवन, धादिङ, ललितपुरसँग पो मिल्न पर्छ । नभए बारा, पर्सा, रौतहट, सर्लाहीसँग मिल्न पर्छ । इलाम जानु पर्ने कारण त्यहाँ पुगेपछि थाहा भयो, बजारका एक–दुई बालविकास हेरेर टोली त दार्जिलिङ घुम्न पो गयो । आफैँ यो भ्रष्टाचारजन्य अपराध कर्ममा सहभागी भएँ ।
यी त अलि अगाडिको कुरा भए । प्रदेश सरकार बनेपछि पनि यस्तो क्रम रोकिएन । बागमती प्रदेशका अनेक मन्त्रालयहरु घटबढ भइरहन्छन् । बागमती प्रदेशमा मुख्यमन्त्री हुँदा राजेन्द्र प्रसाद पाण्डेले सबलाई मन्त्री बनाएर भाग लगाउँदा १४ वटासम्म मन्त्रालय बनेको थियो । पछि धादिङकै मुख्यमन्त्री शालिग्राम जमकट्टेलले यसरी मन्त्रालय धेरै बनाउनु हुन्न भनेर ९ वटामा झार्नु भयो । उहाँलाई पनि सत्ता प्यारो छ । कुर्सी छाड्न गाह्रै छ । त्यसलै मन्त्रालय घटाउने सपना त देख्नु भयो, पटकपटक मन्त्रालय बढाएर अहिले १२ वटा पुर्याउनु भएको छ । मन्त्रालय घटाए पनि बढाए पनि कर्मचारी उस्तै । मन्त्रालयका कर्मचारीले ‘फिल्ड जाने’ हेटौँडामा भ्रमण स्वीकृत गराएर धादिङमा ‘भाञ्जीको विवाह’मा आउनु भएछ । कुन हो टिभीले उहाँको धूँवा निस्कने गरी खेदो खनेको थियो । भन्नुहोस्, के पत्रकारिताका यी सबै उदाहरणहरुमा पत्रकार खराब छन् ? पत्रकारले कसैलाई व्यक्तिगत इबि राखेर दुःख दिएका छैनन् । समाजमा यस्ता पात्र र प्रवृत्तिबारे लेखेका छन् । खबरदारी गरेका छन् । यसो गर्दा पत्रकारमाथि खनिनु पर्ने समाजका अपराधयुक्त चरित्रहरुलाई तपाईंहरुले भनिदिनु भएन, ‘पत्रकारले ठीक गरेका छन्, तिमीहरुले खराबी गरेका हौ ।’ र, त आज सत्य लेख्ने पत्रकारहरु हराउँदै गएका छन् । चाकरी गर्नेहरु समाजमा खत्रै पत्रकार भएका छन् । किनभने तिनले कमिसनमा विज्ञापन लिन्छन्, कर्मचारीको बदमासी खोज्नु पर्नेमा उल्टै कर्मचारीलाई कमिसन दिन्छन् ।
अब नेपाल पत्रकार महासंघको कुरा गरौँ । तपाईंहरुले सुन्नु भएकै होला । नेपाल पत्रकार महासंघमा तालाबन्दी भयो । जिल्ला, प्रदेश, केन्द्रीय कार्यालयमा तालाबन्दी भएन । पत्रकारको अफिसमा के हुन्छ, नेपाली जनतालाई चासो हुन्न । तर त्यहाँ पनि तालाबन्दी हुन्छ भन्दा सबै छक्क पर्छन् । त्यहाँ कोही जनताका कोटी र वर्ग ताला लगाउन पनि जाँदैनन् । त्यहाँ ताला लगाउने पत्रकार नै हुन्छन् । पत्रकार हुँ भन्नेहरु नै हुन्छन् । त्यसैले पत्रकार महासंघमा ताला लगाइएको समाचार पनि पत्रकार नै लेख्छन्, छाप्छन्, प्रसारण गर्छन् । पत्रकारहरुको चुनाव फागुनमा हुनु पर्ने हो, अहिलेसम्म हुन सकेन । त्यहाँ समाचार लेख्नेहरुको सदस्यता खाने काम भयो, गफ लडाइखानेहरुको महासंघ बनाउने कि समाचार लेखिखानेहरुको महासंघ बनाउने भन्ने ठूलो लडाइँ छ । राजनीतिक हिसाबले पनि कोही आफन्त पार्ने र अरुलाई एक भोट मात्रै तल पार्न सकिए हुन्थ्यो भन्नेहरु देखिए । यसैले नेपाल पत्रकार महासंघका ५३ जिल्लामा तालाबन्दी छ । ५३ जिल्लामा धादिङ नपर्ने कुरै भएन । तर हामीले मकवानपुरमा लगाउन दिएका छैनौँ । सकभर कुरा मिलाउँ भनेर यहाँ चैँ सबै पत्रकारका संगठन मिलेर ताला नलगाइएको हो ।
अब को पत्रकार भन्नेमा पनि केही बहस गरौँ । अचेल पत्रकार कोटिकोटीका आउन थाले । कोही मुखमै माइकले घोचिदेलान् जसरी प्रस्तुत हुन्छन् । ती पनि जनताका कुरा गरिरहेका छन्, समस्या उठाइरहेका छन् भने पक्क पत्रकार हुन् । कोही बाटो बनेन, जनताले दुःख पाए भनिरहेका छन् भने ती पनि पत्रकार हुन् । कोही कसैको हराएको लोग्ने वा स्वास्नी खोजिदिँदै मिलाइरहेका छन् । कोही ओढारमा बसेका बुढी आमालाई कपडा र पैसा दिन पुगेका छन् । यी सबै पत्रकार नै हुन् । रेडियो, टिभी, पत्रिका, अनलाइन, सरकारसँग अनुमति लिएर चलाइएका युट्युबमा काम गर्ने र जनता, व्यवस्था र देशप्रति चिन्ता गर्नेहरु पक्कै पत्रकार हुन् । पत्रकार समाजका ऐना हुन् भन्ने गरिन्छ । ऐनाका यी सबै सारथिहरुले ठूलो लगानी गरेका छन् । समय, पैसा खर्चेका छन् । समाजमा पत्रकारको इज्जत हुनु पर्छ भन्ने चिन्तन गर्छन् । समाज स्वच्छ, सुशासनयुक्त, न्यायसंगत र समानताको पयोमा बाटिँदै आममानिसका सुखका दिनहरुको कल्पना गर्नेहरु पक्कै जनताका सेवक हुन् । यस्ता पत्रकारहरुलाई समाजले न्याय र संरक्षण गर्नुपर्छ ।
प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल भन्नुहुन्छ, ‘भिडले मुद्दा स्थापित गर्न सक्दैन ।’ यदि भिडले मुद्दा स्थापित गर्दो हो त २०६४ सालमा माओवादीको भिड ठूलै थियो । २०७५ मा एमाले र माओवादीको सरकारको भिड झण्डै दुई तिहाइकै थियो । मुद्दा स्थापित भएन । क्रान्ति स्थापित भएन । जनताका दिन आएनन् । यो भिड आफू र आफन्तलाई व्यवस्थापनमा लाग्दालाग्दै समय बित्यो । पछिल्लो १६ वर्ष हेर्नुहोस्, आन्दोलन नभएको महिना छैन । आन्दोलन गर्न बाँकी अब ढुंगामाटो मात्रै छन् । बाँकी सबै आन्दोलन नै गरिरहेका छन् । गर्नु पर्ने काम छाडेर काठमाडौँ पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनबाहेक देशमा अरु काम नै भइरहेको छैन । त्यसैले भिडले मुद्दा स्थापित गर्दैन र क्रान्ति सफल हुँदैन भन्ने देखिएकाले हामी पत्रकारले समाजलाई खबरदारी गरिरहनु पर्छ । कस्तो गरी गरिरहनु पर्छ भनेर पोखरेल नै सुनाउनुहुन्थ्यो, ‘बुटवल खण्डतिरको एक जना पत्रकार ढुंगाखानीले बस्तीका जनताले दुःख पाए भन्दै लगातार समाचार लेखिरहनु भएको छ । उहाँले लेखेको समाचारले ठेकेदारहरु दुःख पाउँछन् । बेलाबखत पैसाको चलखेल भएर खानी सञ्चालन हुन्छ, उहाँ फेरि समाचार लेख्नु हुन्छ, खानी बन्छ हुन्छ । तर भइदियो के भने त्यो समाचार लेख्ने साथीले नेपाल पत्रकार महासंघमा सदस्यता पाउनु भएन, खानी चलाउने ठेकेदार चैँ नेपाल पत्रकार महासंघको सदस्यता लिएर म पनि पत्रकार भन्न थाले ।’ हो, यही हो, अहिलेको पत्रकारको आन्दोलन । पत्रकार महासंघमा कस्ता साथीहरु छिरे, समाचार लेख्नेहरु कसरी बाहिर परे भन्ने मुद्दा हो । चोकचौतारामा हामी लेखेरै बाँचेका पत्रकारहरुले योबारे बताउन सकेनौँ कि, भ्याएनौँ कि ?
समाज दलाल पुँजीवादको सिकार भएको छ । आज इमानमा काम गरिखाने भन्दा अरुको घरबारी बेचेर दलाली गर्नेहरुको स्वर ठूलो हुँदै गएको छ । निमुखाहरुले पत्रकार गुहारेर समाचार दिन खोज्दा सबैभन्दा पहिला तिनै सामन्तहरुले धम्काउँछन् भने पत्रकारले पनि हत्पत्ति समाचार लेख्न छाडेका छन् । समाचार लेखेपछि तिनै पत्रकारले दुःख पाउँछन् । पत्रकारका नेता र महासंघले आफ्ना सदस्यहरु कुटपिट र धम्कीको सिकार हुँदा बोल्न छाडेका छन् । यो समाजमा देखिएको पत्रकारिताको दुःख भयो । पत्रकारिता मासिँदै जान थालेको छ । गाउँमा सत्रुता कमाएर एउटा पत्रकार कति दिन बस्न सक्छ, सबै भासिन थालेका छन् काठमाडौँतिर । त्यहाँ पनि गजबको दलाली छ । त्यो दलाली सहन नसकेर काठमाडौँ छिरेकाहरु पनि विदेश पलायन भएका छन् । साँच्चै समाज बुझेका र लेख्न सक्ने पत्रकारहरुलाई कतै गैरसरकारी संस्थामा, कतै सहकारीमा, कतै पार्टीमा राखेर पत्रकारितामा सकभर नलागोस् भनेर यही समाज तगारो हालिरहेको छ । न्यून ज्यालामा काम गर्ने सबैभन्दा बढी समय खटिने मजदुर कोही हुन् भने पत्रकार हुन् । तर तिनका आफ्नै दुःख चैँ कतै छापिन्न, बज्दैन, देखाइन्न ।
पत्रकारले पार्टी चलाउन सक्छन् । पत्रकारले सहकारी चलाउन सक्छन् । विद्यालय र निजी विद्यालय चलाउन सक्छन् । पत्रकारले खानी चलाउँन थाले र बिग्रिए । पत्रकारले ठेक्कापट्टा र दलाली गर्न खोजे र बिग्रिए । पत्रकारले दलालीको संगत गर्न थाले र बिग्रिए । पछिल्लो समय पत्रकारले वकालत पनि गर्न थाले । पढेर वकिल हुँदा खुशीकै कुरा थियो । पत्रकार राजनीतिमा आएर बिग्रिए । राजनीतिक भागवण्डाबारे थाहा पाए र बिग्रिए । भागवण्डा लिन थाले र बिग्रिए । भागवण्डा नपाएपछि झगडा गर्न थाले र बिग्रिए । यसरी पत्रकारिता खण्डित हुँदै गयो । अर्कातिर पत्रकारले भन्दा चाँडै विषयबस्तु देखाउने सामाजिक सञ्जालहरु आए । तुरुन्तै लाइभ भनेर देखाउने फेसबुक, युट्युब, टिकटकले मिडिया संकटमा छ । पत्रिका गाउँबस्तीबाट हराउँदै जान थाल्यो । घरको टिभीमा माकुराको जालो छ । रेडियो पसलको साइनबोर्ड राखेका बजारका पसलमा रेडियो पाउन छाडेको वर्षौँ भइसक्यो । यो त मिडिया हाउसको समस्या हो ।
अब पत्रकारकै कुरा गरौँ । पछिल्लो समय एआइ प्रविधिले अब तपाईंको जस्तै स्वर, शरीर र दिमाग चलाउन थाल्यो । भर्खरै भारतीय न्युज च्यानल आजतकले आफ्नो पत्रकार अञ्जन ओम कश्यप २ तयार पार्यो । तपाईंले केही समयपछि नेपालमा पनि समाचार पढ्नेहरु एआइ देख्नुहुनेछ । यतिखेर एउटा एआइ तयार पार्न केही खर्च लाग्ला । तर उसले तलब माग्दैन, आन्दोलन गर्दैन । तलब बढाइदे भनेर निहुँ खोज्दैन । रिमोटले ऊ परिचालित हुनेछ । विस्तारै सञ्चारगृहजस्तै अब सञ्चारकर्मी पनि समस्यमा पर्दै जाने छ । त्यसैले पत्रकारले पत्रकारिता गरौँ । राजनीति कम गरौँ । दलाली त झन गर्दै नगरौँ । किनभने समाज अहिले पनि असली समाचारको स्वादको भोको छ । उनीहरुको समाचारको भोक मार्ने काम हाम्रै हो । हामीले समाचार लेखेका दिन समाज सुधारको बाटोमा जान्छ । नत्र दशैँ तिहार, संक्रान्तिमा भाग लगाए झैँ समाजको सम्पत्ति भाग लगाएर खानेहरुले अहिले गाउँको विकास र बजेट मात्रै खाएका हुन् । क्रसरको पैसा खाएका हुन् । विस्तारै यिनीहरुले समाज लुट्दै जानेछन् । यो लुट रोक्ने काम राजनीतिको हो तर रोक्दैनन् । देशको राजनीति हेरेकै छौँ । देखिएका अनुहारहरु को हो, चिनिएकै छ । उनीहरुले रोक्दैनन् किनभने उनीहरु दलाल भइसकेका छन् । पत्रकार पत्रकार मात्रै रहेर यो राजनीतिक बेइमानी र दलाली रोक्न खबरदारी गरिरहौँ ।