काठमाडौं– संवाद कार्यक्रम ‘भीएफवाई टक्स’ले ग्लोबल संस्करणको घोषणा गरेको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा ‘भीएफवाई ग्लोबल’को घोषणा गरियो ।
अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध नेता, सेलिब्रेटी, उद्यमी, कूटनीतिज्ञ, विज्ञ, सरकार प्रमुख, पत्रकार, आध्यात्मिक गुरु एवं प्राध्यापकसँग अन्तक्रिया र संवाद गर्ने उद्देश्यले नयाँ शोको घोषणा गरियो ।
अंग्रेजी भाषामा संचालन हुने शोमा अभिनेता राजेश हमालले आमन्त्रित अतिथिसँग संवाद गर्ने भएका छन् । जहाँ अतिथिको जीवनशैली, सफलता र असफलताका कथा, नेपालको पर्यटकीय आयामबारे छलफल हुने जनाइएको छ ।
शोको घोषणा गर्दै अभिनेता हमालले यो कार्यक्रमले विश्व नक्सामा नेपालको सक्रिय भूमिका वृद्धि हुने बताए । यो कार्यक्रमले ‘सफ्ट-कूटनीतिको भूमिका खेल्ने आशा उनले व्यक्त गरे । ‘राजनीतिक डिप्लोमेसीको भूमिका विभिन्न च्यानलबाट हुन्छ । तर, यो डिप्लोमेसीले अझै प्रभावकारी भूमिका खेल्न सक्छ’ उनले भने ।