टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङग्लादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । बङग्लादेशका टोहिड हृदोयले सर्वाधिक ४० रन बनाए । लिटन दास ३६ रनमा आउट भए । श्रीलङ्काका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।
डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । उसका पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भाले २१ रन जोडे ।
समूह ‘डी’ मा श्रीलङ्काको यो लगातार दोस्रो हार हो । श्रीलङका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । यही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।