Sat. Jul 20th, 2024

अधिकार दुरुपयोग गर्दै बागमतीको ६ जिल्लामा खेलकुदको अध्यक्ष नियुक्ति, धादिङमा फेरी प्रतापसिं !

धादिङ– पदावधि सकिनु केही दिन अघिमात्र बाँकी रहँदा बागमती प्रदेशका खेलकुद विकास समितिका सदस्यसचिव सूर्यलाल भण्डारीले धादिङसहित ६ जिल्लामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नियुक्त गरेका छन् ।

अधिकारको दुरुपयोग गर्दै धादिङमा प्रतापसिं तामाङलाई पुनः अध्यक्ष नियुक्त गरेका हुन् । २०७६ माघ ८ गते पहिलो कार्यकालको नियुक्ति पाएका तामाङले र २०७८ फाल्गुन २४ गते दोस्रो कार्यकालका नियुक्ति लिएका थिए । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल समेतको भिटो पावरमा नियुक्ति थपेको यो तेश्रो पटक हो । नियुक्ति पाउनुभन्दा अगाडि भौतारिदै हिँडेका तामाङले नियुक्ति पाएको खबर पाउनेविक्तिकै भव्य कार्यक्रम गरी पदभार ग्रहण पनि गरिसकेका छन् ।

बागमती प्रदेशका १३ मध्ये धादिङसहित सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर बाइवा, मकवानपुर राज मोक्तान, काठमाडौँमा सानुभाइ बलामी र सिन्धुली अध्यक्षमा वीरबहादुर थिङलाई नियुक्त गरेका छन् ।

भण्डारीले माओवादी केन्द्रका शक्तिशाली नेताको जिल्लामा अध्यक्ष नियुक्त गरेर र विभागीय मन्त्रीलाई सन्तुलन मिलाउन काठमाडौ र सिन्धुलीको अध्यक्ष एकीकृत समाजवादीलाई दिएको छ । जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्थामा त्यसअघिकै निर्णयलाई टेकेर नियुक्त गर्नु सान्दर्भिक नभएको भन्दै आलोचना पनि भइरहेको छ ।

परिषदका कर्मचारीहरुका अनुसार अध्यक्ष नियुक्तिको विषयमा युवा तथा खेलकुद मन्त्री रमा आले मगर असन्तुष्ट छिन् । मन्त्री मगर एकीकृत समाजवादीकी हुन् । मन्त्री मगरले खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिबारे आफूलाई जानकारी नभएको बताइन् । उनले भनिन्–‘समितिको अध्यक्ष नियुक्तिमा मलाई जानकारी भएन । मलाई अनौपचारिक रूपमा सोधिएको थियो । मैले नगर्न भनेको हुँ,’ उनले भनिन्, ‘पछि उहाँले गर्नु भएछ । उहाँले पुरानो मितिमा निर्णय गरेको कागज देखाउनु भएको छ । जुन, म मन्त्री भएर जिम्मेवारी लिनु अघिको निर्णय हो । मेरो जिम्मेवारी नै नभएको बेलामा गरेको निर्णयको जवाफदेही म कसरी हुने ?’

कार्यविधि संशोधन गरी जिल्ला अध्यक्षहरूको कार्यकाल २ वर्षबाट ४ वर्षको बनाइएको छ । सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको परिषदको बोर्ड बैठकले गरेको निर्णयलाई टेकेर सदस्यसचिव भण्डारीले समितिका अध्यक्ष नियुक्त गरेको परिषदका अधिकृत सूर्य दाहालले जानकारी दिए । गत वैशाख २३ मा बसेको परिषदको बोर्ड बैठकले खेलकुद विकास समिति अध्यक्ष नियुक्त गर्ने निर्णय गरेपछि मौकाको फाइदा उठाउँदै भण्डारीले आफ्ना फेवरका व्यक्तिहरुलाई नियुक्त गरेका हुन् ।

बागमती प्रदेशका खेलकुद विकास समितिका सदस्यसचिव भण्डारीको ५ वर्षे पदावधि असार २३ गतेबाट सकिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: