Tue. Jul 16th, 2024

धादिङको शिवदल गणबाट तालिममा सहभागी एक सय तीनजना नेपाली सेनाका लागि योग्य

धादिङको शिवदल गण गजुरीबाट सैन्य आधार तालिममा पूरा गरेर नेपाली सेनाका लागि योग्य भएका छोरालाई बधाई दिँदै एक वृद्ध महिला । तस्बिर : शंकर श्रेष्ठ

धादिङ– धादिङको शिवदल गण गजुरीले सातौ सैन्य आधार तालिममा सहभागी ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै एक सय तीनजना नेपाली सेनाका लागि योग्य भएका छन् ।

सिपाही भएकाहरूलाई श्री नं. ६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रोज प्रताप जबाराले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न स्मरण गराए । ‘राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढंगबाट पालना गर्न सक्नुपर्छ,’ उनले भने–‘इमानदार र कर्तव्यनिष्ठ भएर सेवामा समर्पित हुनु, आजदेखि भविष्यको ढोका खुलेको छ ।’

दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ दिँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि जबाराले आग्रह गरे ।

गणका सेनानी हेमप्रसाद सिवाकोटीले कवाज प्रमुखको हैसियतमा अन्तिम दलेल कवाज गराएका थिए । गणबाट १ सय तीन सेनाका जवानले आधारभूत सैन्य तालिम पूरा गरेका छन् । १० महिनासम्म भएको तालिममा सहभागीहरुलाई हतियार चलाउनेदेखि सैनिकलाई आवश्यकता सम्पूर्ण सीप सिकाइएको छ ।

३० माघ ०७७ मा बर्दिया राष्ट्रीय निकुञ्जबाट आएको शिव दल गणले समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यवहारिक र सैद्धान्तिकलगायत विभिन्न कार्यमा उत्कृष्ट भएका नयाँ सिपाहीहरू तालिमको फायरिङ्ग विधातर्फ प्रथम भएका सिपाही विराज पुन, दौड विधातर्फ प्रथम भएका सिपाही निशान बि.क., बाधापार विधातर्फ प्रथम भएका सिपाही निराज सिंह, ड्रिल विधातर्फ प्रथम भएका सिपाही क्षितिज राना र कमाण्डान्ट एण्ड मोटिभेसनल अवार्ड प्राप्त गर्न सफल सिपाहीलाई पुरस्कृतसमेत गरिएको छ ।

तालिमको दौरान सैद्धान्तिक र ब्यवहारिक दुवैतर्फी सर्वोत्कृष्ठ नतिजा हासिल गरी सर्वप्रथम भएका सिपाही विजय रानालाई प्रमुख अतिथिज्ले वीरताको चिनो खुकुरी एवम् मायाको चिनो मोमेन्टो प्रदान गरे । सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्वल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबिर लगाएर बधाई दिइएको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: