Tue. Dec 3rd, 2024

नौबिसे नागढुंगा सडक पहिरोले अवरुद्ध, पृथ्वीराजमार्गको पनि ठाउँ ठाउँमा समस्या

धादिङ – अविरल वर्षातसंगै पृथ्वीराजमार्गको ठाउँ ठाउँमा पहिरो झरेको छ । सडकको अधिकांश भाग हिलाम्मे छ । सडक माथीबाट झरेको लेदोको त गन्ती नै छैन । साना ठूला सवारीहरु रातीदेखि सडकै अलपत्र परेका छन् ।

धादिङको धुनिबेसी नगरपालिका-९ खात्रीपौवामा सडक माथीबाट झरेको पहिरोले नौबिसे नागढुंगा सडक दुईतर्फी बन्द भएको छ । डोजरको सहायताले पहिरो पन्छाउने प्रयास भइरहेपनि वर्षात नरोकिएकोले समस्या थपिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

बेनिघाट रोराङ गाउँपालिका-१० पानीधारा र तिङग्राङखानी भन्ने ठाउँमा राती करिब २ बजेबाट खस्न सुरु गरेको पहिरो अझै रोकिएको छैन । बर्षाका कारण सडक माथिबाट झरेको पहिरोले थुनिएका सडक खुलाउन नभ्याउँदै बेनिघाट रोराङ-५ कृष्णभीर, बेनिघाट रोराङ-३ सलाङघाटमा सडक दुईतर्फी बन्द भएको छ ।

बडो कष्टले एउटा पहिरो पार गरेका सवारी अर्को पहिरोमा रोकिन बाध्य छ । पहिरो नभएको स्थानमा पनि राजमार्ग विस्तारको क्रममा निस्किएको माटोले सडक हिलाम्मे छ ।

बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङखोला, तिक्राङखानी, कृष्णभिर, मौवाखोला क्षेत्रमा पहिरो र खोल्साहरुबाट झरेको लेदो माटोले पृथ्वीराजमार्ग सबैभन्दा धेरै अस्तव्यस्त बनेको छ । पृथ्वीराजमार्गमा दैनिक १३ हजार भन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्ड छ ।

पूर्वपश्चिमबाट संघिय राजधानी आवातजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी, पहिरो, सवारीजामले सधैँजस्तो तनाब व्यहोर्नुपरेको छ । राजमार्गबाट जोडेर जताततै खनिएकाका अव्यवस्थित कच्ची सडक र विभिन्न खानीहरु नै राजमार्ग अस्तव्यवस्त हुनुको मुख्य कारक हुन् ।

About The Author

अन्य समाचारहरु: