Tue. Dec 3rd, 2024

‘घरज्वाइँ’को सुखद ओपनिङ, शनिबार अकुपेन्सी वृद्धिको प्रक्षेपण

काठमाडौं – दयाहाङ राई स्टारर ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रबारीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा थियो जुन सुखद हो ।

शुक्रबार अपरान्ह र सन्ध्याकालिन शोज खचाखच थिए । शनिबार फिल्मको अकुपेन्सीमा बढोत्तरी हुने अनुमान गर्न सकिन्छ । खासगरि दिउँसो, अपरान्ह र बेलुकाका शोजमा अकुपेन्सी बढ्ने देखिन्छ ।

काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, नारायणगढ सहरका हलमा अकुपेन्सी राम्रो देखिएको छ । शुक्रबारका बिहानी शोमा झरीले असर गरेपनि मौसममा सुधार आएपछि दिउँसोबाट फुटफलमा वृद्धि देखियो ।

फिल्मका निर्माता, निर्देशक र कलाकारले फिल्मको हाउसफूल भएका हलको स्क्रिन सट् सामाजिक संजालमा सेयर गर्दै दर्शकलाई धन्यवाद दिएका छन् ।

शुक्रबार काठमाडौं उपत्यका, पूर्वी सहर र पश्चिम नेपालका दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले शो संख्यामा वृद्धि गरेका छन् ।

फिल्म प्रवर्धनको क्रममा (बायाँदेखि)अभिनेता शिशिर बाङदेल, निर्देशक अनिल बुढा र अभिनेत्री मिरुना मगर ।
निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपनि दिवा शोबाट दर्शकको चाप रहेको बताए । ‘दिउँसोदेखि दर्शकको चाप बढेको छ । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणित हुन्छ’ घर्तीले भने ।

अनिल बुढामगर निर्देशित फिल्मले मगर समुदायको घरज्वाइँ परम्पराको कथा भन्छ । प्रेम, संस्कृति र सम्बन्धको कथा बुनिएको यो फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

पूर्वीरुकुमको तकसेरामा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पटकथा लेखनमा विनोद खतिवडा र सुभास कोइरालासहित निर्देशक बुढाको सहकार्य छ ।

About The Author

अन्य समाचारहरु: