धादिङ– धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापास्थित थोवाखोलाको एकमात्र फलामे पुल बगाएको छ । आइतबार राती वर्षातसँगै आएको बाढीले पुल बगाएपछि रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ को करिब सात वटा गाउँको आउजाउ बन्द भएको छ ।
पुल नहुँदा लापचेत, कुप्चेत, कपुरगाउँ, रिचेत, तिर, ताइम, भ्राम्दाङलगायतका गाउँको आवत जावत बन्द भएको हो । वर्षाैअघि कादुरी नामक संस्थाले निर्माण गरिदिएको फलामे पुलको अवशेष समेत नरहनेगरी खोलाको बाढीले बगाएको स्थानीय मिम्बा तामाङले जानकारी दिनुभयो ।
लापा माध्यमिक विद्यालय पढ्न आउने विद्यार्थीहरु आवत जावत गर्ने पनि त्यही पुल हो । बर्षातको समय, खोला बढेर अत्यन्तै ठुलो भएको छ । अर्काे पुल नबेसम्म विद्यार्थीहरु विद्यालय आउनजान नसक्ने भएका छन् । सोही पुल भन्दा अलि माथी रहेको राको खोलाको काठेपुल पनि बगाएको छ ।