काठमाडौं – देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही, कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुनेछ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।