काठमाडौं -काठमाडौं महानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि श्रम शोषण भएको पाइएको छ । कुलेश्वरस्थित युनिक सेक्युरिटी सर्भिस प्रालिमार्फत् महानगर प्रहरी बलमा कार्यरत ११६ जनाले तोकिएअनुसार पारिश्रमिक र सेवासुविधा नपाएको बताएका छन् ।
कम्पनी र महानगरबीच भएको सहमतिअनुसार १५ हजार रुपैयाँसँगै बढेको तलब, सामाजिक सुरक्षा भत्ता, पोशाक भत्ता नपाएपछि उनीहरुले यथार्थ खोलेका हुन् । उनीहरुले छुटेको सेवासुविधा उपलब्ध गराउन माग गर्दै हिजो कम्पनीमा निवेदन दिएका छन् ।
फर्म शुल्कबापत उठाएको दुई हजार पाँच सय रुपैयाँ फिर्ता गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता एकमुष्ट उपलब्ध गराउनुपर्ने, सरकारले तोकेबमोजिम तलब दिनुपर्ने उनीहरुको माग छ । रासन भत्ताबापत ६ हजार ४३५ रुपैयाँ दिनुपर्नेमा पाँच हजार १५१ रुपैयाँ मात्र दिइएको निवेदनमा उल्लेख छ । दशैं खर्च पनि पूरै नदिएको उनीहरु गुनासो छ । २० हजार पाँच सय पाउनुपर्नेमा १२ देखि १५ हजार रुपैयाँ मात्र दिइएको थियो ।
‘महानगरको जिम्मेवारी त्रुटिरहित ढंगले निर्वाह गर्दासमेत कर्मचारीले पाउनुपर्ने सेवासुविधा पूर्ण रुपले प्राप्त नभएको हुँदा र मिति २०८१ असार ३१ गतेबाट कन्ट्रयाक अवधि सकिएको भनि कम्पनी फिर्ता पठाइएको र कम्पनीले शुरु मितिदेखि अन्तिम मितिसम्म दिनुपर्ने सेवासुविधा उपलब्ध नगराएको हुँदा सम्झौताबमोजिम निम्नअनुसारको सेवासुविधा उपलब्ध गराईपाऊँ भनि संयुक्त रुपमा यो निवेदन पेश गरेका छौं’, निवेदनमा उल्लेख छ ।
उनीहरुले काम नदिएपनि तीन महिनाको रकम प्रदान गरेर घर पठाउनुपर्ने सरकारको निर्णय कार्यान्वयन गर्न जोडदार माग गरेका छन् । कम्पनीका प्रतिनिधि, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र महानगर प्रशासकले आफूहरुले पाउनुपर्ने रकम मिलेमतोमा हिनामिना गरिएको उनीहरुको आरोप छ ।