
ब्राजिलले ‘ओरोपोचे’ ज्वरोबाट विश्वमै पहिलो बिरामीको मृत्यु भएको पुष्टि गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले उत्तरपूर्वी राज्य बाहियामा बस्ने ३० वर्षभन्दा कम उमेरका दुई जना महिला भाइरल ज्वरोबाट पीडित भएकोमा एक जनाको ज्यान गएको जनाएको हो । बिरामीमा डेङ्गीको जस्तै गम्भीर ज्वरो र अरू लक्षण थिए । अहिलेसम्म विश्वमा ‘ओरोपोचेु’ज्वरोबाट कसैको पनि ज्यान गएको थिएन ।
स्वास्थ्य अधिकारीले दक्षिणी राज्य सान्ता क्याटारिनामा ‘ओरोपोचे’ज्वरोबाट अर्को शंकास्पद ज्यान गएको पनि अनुसन्धान गरिरहेका छन् । ओरोपोचे ज्वरो पहिलो पटक सन् १९६० मा ब्राजिलमा पत्ता लागेको थियो ।
त्यसबेलादेखि खासगरी अमेजन क्षेत्र र अन्य ल्याटिन अमेरिकी देशमा यो ज्वरोको प्रकोप फैलिए पनि कसैको ज्यान गएको थिएन । ब्राजिलमा यस वर्ष अहिलेसम्म सात हजार दुई सय ३६ जनामा ‘ओरोपोचे’ज्वरोको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।