काठमाडौँ– नेपालमा मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ। एक वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन तयार रहेको नेपालका लागि चीनका राजदूत छन सङले बताए।
लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्ने बित्तिकै काम थाल्ने उनको भनाइ छ। “नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो,” उनले भने, “चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको छ।”
नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकको टोली हाल नेपालमा रहेको छ। पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना रहेको राजदूत छनले बताए।
उनले अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यमा सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।