Sat. Jan 18th, 2025

गोसाइकुण्डमा तीर्थयात्री पुग्ने क्रम शुरु

रसुवा – गोसाइकुण्डमा स्नान गर्ने भक्तजन पुग्ने क्रम शुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि कुण्डमा स्नान गर्न भक्तजन जाने गरेका छन् । यस वर्ष स्नान मेला भर्न १५ हजार जना भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरेको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए। जनैपूर्णिमाको दिन भक्तजनको घुइँचोलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था, उपचार, खानेपानीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले. जानकारी दिए ।

भगवान् शङ्करले बास लिनुभएको पवित्र कुण्डस्थलका रूपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले लेक लाग्ने समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरेको समितिका अध्यक्ष डिएमले बताए ।

गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । पर्याप्त सुरक्षा व्यवस्था मिलाएकाले निर्धक्क भएर यात्रा गर्न उनले अग्रह गरे । यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन सबैमा प्रमुख जिल्ला अधिकारी खनालको अनुरोध छ ।

गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी समस्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । ग्लुकोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।

घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले उल्लेख गरे।

काठमाण्डौबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा शुरू हुन्छ । बाटोमा ठाउँ–ठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए। हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिंड्नका लागि काठमाण्डौबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ ।

About The Author

अन्य समाचारहरु: