धादिङ– धादिङको महादेवबेसीस्थित जनजागृति माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको छ ।
जीवन बीमा कम्पनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा अपांगताको क्षेत्रमा काम गर्ने मैत्री समाज नेपाल मार्फत दृष्टिविहीन बिद्यार्थीले लेखपढ गर्न प्रयोग गरिने ब्रेल पेपर उपलब्ध गराएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमले दृष्टिविहीन बालबालिकालाई सहयोग उपलब्ध गराएको आइएमई लाइफ इन्स्योरेन्स धार्केका उपशाखा प्रमुख महेश न्यौपानेले जानकारी दिए । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो सहयोग देशभर नै उपलब्ध गराउँदै आएको छ ।
यसबाट पढ्दै गरेका स–साना बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने मैत्री नेपालका प्रमेन्द्र ढकालले विश्वास व्यक्त गरे । जनजागृति माविमा २४ जना दृष्टिविहीन अध्ययनरत छन् ।