–धनराज वास्तविक
पुष्पलालहरूले २००६ सालमा स्थापना गरेको कम्युनिष्ट पार्टी आज विभिन्न पंक्तिमा विभाजित रहेको कुरा नग्न सत्य हो । वर्तमान अवस्थामा कम्युनिष्ट आन्दोलन छिन्नभिन्न छ । भोलिका दिनमा पनि नरहलान् भन्न सकिदैन । खासगरी पुष्पलालको क्रान्तिकारी विचार र सिद्धान्तको नेतृत्व एकीकृत समाजवादीले गरिरहेको छ । यसअर्थमा नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार एकीकृत समाजवादी हो । साथै नेकपा (एकीकृत समाजवादी) नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो भन्ने कुरा पार्टीको सैद्धान्तिक मान्यताले पुष्टिगर्छ र गर्दै जानुपर्दछ ।
खैर, यस स्तम्भमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को (१६—२१) असारमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भबारे चर्चा गरिने छ । नेकपा (एकीकृत समाजवादी) नेपाली सर्वहारा र श्रमजीविहरूको प्रतिनिधित्व गर्ने पार्टी हो । नेपालमा १९९० को दशकदेखि सुरू भएको लोकतान्त्रिक आन्दोलनको क्रमवद्ध विकास र विचार धाराका रूपमा यस पार्टीलाई लिनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले माक्र्सवाद—लेनिनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मानेका÷भनेका छौँ । जसको आधारमा हाम्रो चिन्तन प्रणालीको विकास गर्नुपर्ने छ । विगतका आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षागर्दै लोकतान्त्रिक बाटोबाट रूपान्तरणकारी अभियान सञ्चालन गरेर मुलुकलाई समृद्ध बनाउनु हाम्रो पार्टीको न्युनतम कार्यभार हो ।
वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य ठान्ने हाम्रो पार्टी र्वतमान संविधानको सर्वोच्चता, शक्ति पृथकिकरणको सिद्धान्तलाई आत्मसात गर्दै आवधिक निर्वाचन, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी शासन, स्वतन्त्र न्यायपालिका र समावेशी लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यताप्रति इमान्दार, प्रतिवद्ध र कटिवद्ध छ/हुनुपर्छ । जनवादी राजनीतिक व्यवस्थासहितको समाजवादी मुलुक निर्माणमा पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ । यी र यस्ता तमाम वैचारिक, राजनीतिक र सैद्धान्तिक आलोकमा उभिएर बाँचिरहेको नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन (१६—२१ असार) सम्पन्न भयो । सिङ्गो महाधिवेशनको सन्देशका बारेमा एउटा लेखमा सायद सम्भव हुँदैन । तर, केही महत्वपूर्ण पक्ष र आयामहरूमाथि मन्थन गर्नुपर्ने जरूर छ ।
महाधिवेशनले के ग¥यो ?
विद्रोहको करिब ४ वर्षपछि सम्पन्न महाधिवेशनले माथि भनिएझैँ पुष्पलालको विरासतलाई जीवित राख्ने काम यस महाधिवेशनले गर्यो । महाधिवेशनले राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा अरू कम्युनिष्ट पार्टीभन्दा फरक देखाउने प्रयास गरेको छ ।
महाधिवेशनले नेकपा (एकीकृत समाजवादी) प्रगतिशी र क्रान्तिकारी समाजवादी पार्टी हो भन्ने मुख्य राजनीतिक सन्देश दिएको छ । अग्रगति, प्रगती र जनवादी राज्यव्यस्थाका निम्ति लड्न लिखित रूपमा राजनीतिक दस्तावेज पारित गरेको छ । जो नेपाली कम्युनिष्ट आन्दोलनको आगामी प्रधान मार्ग हुनेछ । त्यस्तै अन्य कम्युनिष्ट पार्टीभन्दा फरक कसरी छ ? भन्ने कुराको छिनोफानो गरेको छ । महाधिवेशन भव्य, सव्य ढंगले वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक रूपमा आफूलाई भिन्न रूपमा उभ्याउने काम गरेको छ । महाधिवेशनमा सहमतिका आधारमा प्रस्तुत गरिएका राजनीतिक, संगठनिक, समाजवादी कार्यक्रम र विधान दस्तावेजले नयाँ राजनीतिक सन्देश दिएका थिए । दस्तावेजमाथि १२ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेका थिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको ५१ पेजको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति, तत्कालिन राजनीतिक परिस्थिति, नेपाली कम्युनिष्ट आन्दोलनको गौरवमय इतिहास, नवौँ महाधिवेशनका निष्कर्ष र कार्यान्वयनको समिक्षा, दक्षिणपन्थी अवसरवाद र विर्सजनवाद विरूद्धको संघर्ष, निर्वाचनमा सफलता, सरकार निर्माण र पार्टी एकता, प्रतिगमन विरूद्ध संघर्ष, नेकपा (नेकपा) विभाजन, पार्टी विभाजनको घोषणा, विद्रोह र औचित्य, समाजवादी जागरण अभियान, पार्टीको मुख्य सैद्धान्तिक अवधारणा, समाजवादी कार्यक्रम र कार्यदिशा, रणनीति र कार्यनीति, आगामी कार्यभार (वैचारिक, राजनीतिक र सांगठनिक कार्यभार) लगायत २२ बुँदामा स्पष्टसँग ब्याख्या गर्नुभएको छ ।
मुक्तिगामी प्रगतिशील नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा एकीकृत समाजवादी गठन भएको हो । एमालेको नेतृत्व स्वेच्छाचारी, व्यक्तिवादी, भ्रष्टचारी, दम्भी, घमण्डी, पाखण्डी, जिद्धि, सर्वसत्तावादको आहालमा डुबेपछि कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन दिनका निम्ति विद्रोह गरिएको हो । स्वेच्छाचारी र व्यक्तिवादमा रमाउने नभएर जनवादी केन्द्रीयता र व्यक्तिगत जिम्मेवारीलाई आत्मसात गर्ने पार्टीका रूपमा (एकीकृत समाजवादी) को स्थापना गरिएको हो । जनताको विश्वास जित्दै राष्ट्रको विकास र समृद्धिलाई आत्मसात गर्ने हाम्रो प्रण हो । नेपालको अवस्थिति, वर्तमान अवस्था र विश्व परिस्थितिको विशिष्टतामा माक्र्सवाद—लेलिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्दै अघि बढ्नुपर्छ । तत्कालिन अवस्थामा एमाले अध्यक्ष केपी ओलीले दुईदुई पटक प्रतिनिधिसभा विघटन गरेपछि अनिवार्य र वाध्यकारी विद्रोहको झण्डा उठाउनु समाजवादी पार्टीमा लामवद्ध नेता कार्यकर्ताहरूको कर्तव्य बन्यो । कम्युनिष्ट आन्दोलनलाई चुक्न नदिने र लोकतन्त्रको झण्डालाई झुक्न नदिने कसमका साथ प्रतिगमनका विरूद्ध उभिएको ठूलो पंक्ति आज यस पार्टीमा क्रियाशिल छ ।
समाजवादी कार्यक्रम
दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको अर्को महत्वपूर्ण पक्ष हो नेपाली विशेषताको समाजवादी कार्यक्रम । पार्टीका सम्मानित नेताको नेतृत्वमा तयार पारिएको उक्त कार्यक्रम पार्टीका विभिन्न तहमा बहस गरिएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा हासिल उपलब्धिको रक्षा र विकास गर्दै वैज्ञानिक समाजवाद हासिल गर्ने महान लक्ष्य राखिएको छ । एकीकृत समाजवादीले अघि सारेको समाजवादी कार्यक्रमले मुलतः नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्रवीकृत गर्दै अगाडि बढ्न प्ररित गरेको छ । झापा विद्रोह, जनआन्दोलन, जनयुद्ध, मदेश विद्रोहलगायतका क्रान्तिले नेपाली समाजको वर्ग चरित्र बदल्ने काम गरेका छन् । साशकीय स्वरूप बदल्न सफल भएका छन् । वर्तमान नेपाली समाजको मुल चरित्र पूँजीवाद हो । यही प्रवृत्ति बदल्ने क्रान्तिको नाम हो समाजवाद । समाजवाद समतामुलक समाज निर्माण गर्ने युगिन यात्रा हो । सैद्धान्तिक अभियान हो । समाजवादी क्रान्ति समाज बदल्ने महाअभियान हो । जसको मुल नेतृत्व नेपालमा नेकपा (एकीकृत समाजवादी) ले गरिरहेको छ । समाजवादी कार्यक्रमले नेपाल समाजको वर्तमान र भविष्यको वस्तुनिष्ट विश्लेषण गर्ने प्रयास गरिएको छ ।
समाजवादी कार्यक्रमको पृष्टभूमिमा नेपाली समाजको विकास क्रमलाई स्मरण गरिएको हो । ऐतिहासिक रूपमा स्मरण गर्ने क्रममा तात्कालिन नेपाली भूमि (टिस्टा—सतलज र दक्षिणमा गंगा र उत्तमा हिमालसम्म ) को अवस्थामा बारेमा उल्लेख गरिएको छ । नेपाली समाजको विकासक्रम, नेपाली समाजका विशेषता, अर्ध—उपनिवेश र अर्ध सामन्ती नेपाल, नेपाली नयाँ जनवादी क्रान्तिको प्रक्रिया, नेपाली क्रान्तिका दुई ऐतिहासिक चरणहरू, नेपालको नयाँ जनवादी क्रान्तिको सबैभन्दा महत्पूर्ण शिक्षा, जनआन्दोलनका उपलब्धिहरू, वर्तमान नेपाली समाज र क्रान्तिको स्वरूप, समाजवादी कार्यक्रमको ऐतिहासिक आवश्यकता, नेपाली समाजको वर्तमान प्रधान अन्तर्विरोध, समाजवादी क्रान्तिमा मुख्य प्रतिद्वन्दीको निक्र्यौल, समाजवादी क्रान्तिमा विभिन्न वर्गको भूमिका, समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य, समाजवादी क्रान्तिको बाटो, समाजवादी क्रान्तिको कार्यनीतिक कार्यदिशा, समाजवादी क्रान्तिका सवाललगायत ३५ बुँदामा सम्मानित नेता झलनाथ खनालले सपार्ट ब्याख्या गर्नुभएको छ ।
पार्टी पंक्तिले बुझ्न र जान्नुपर्ने कयन कुराहरू समाजवादी कार्यक्रमभित्र छन् । तर, मुलुतः पार्टीका सामान्य कार्यकर्ताले समेत जान्नुपर्ने मुख्य कुराहरू भनेको समाजवाद के हो, नेपाली समाजको वर्ग चरित्र के हो, समाजवादी कार्यक्रममा समावेश गरिएका कार्यक्रमहरू के के हुन्, पार्टीको रणनीतिक लक्ष्य के हो जस्ता मुलभूत राजनीतिक, सैद्धान्ति, वैचारिक र सांगठनिक पक्षहरू हुन् ।
सांगठनिक सन्देश
नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दशौँ महाधिवेशनबाट पारित गरेको अर्को महत्वपूर्ण दस्तावेज हो सांगठनकि दस्तावेज । कस्तो संगठन निर्माण गर्दा देश र जनताको भलाई हुन्छ भन्ने बारेमा पार्टीका महासचिव घनश्याम भुसालले राम्रो ब्याख्या गर्नुभएको छ ।
सबैभन्दा पहिले संगठन के हो भन्ने सवाललाई जानकारीमा राख्न जरुरी हुन्छ । संगठन दुई वा दुईभन्दा धेरै संख्याको समूह नै संगठन हो । जसले सामुहिक रूपमा विभिन्न लक्ष्य, उद्देश्य, आवश्यकता, दुःख, संघर्षलाई सहज रूपमा पारगर्ने काम गर्छ । मानिसहरुलाई संगठन वा पार्टीमा सहभागि हुन विभिन्न चाहाना र भावना, आवश्यकताले प्रभाव पारेको हुन्छ । जस्तो विचार, सिद्धान्त, नेता, संगठनको तागत, व्यक्तिगत हित, सामूहिक बन्नका लागि पनि मान्छेहरूले पार्टी रोज्न सक्छन् । मुलतः मान्छेलाई संगठनले सामुहिक बनाउछ । व्यक्तिका चाहाना, भावना, आवश्यकतालाई वास्तविक दुनियाँमा बदलेर, व्यवहारमा उतारेर मुलुकको समृद्धि र समाजवादी व्यवस्था हासिलका निम्ति एकीकृत समाजवादीले क्रान्तिकारी पार्टीको परिकल्पना गरेको छ ।
महासचिव भुसालको ब्याख्याको सार उतार्नु पहिले कम्युनिष्ट पार्टीका सन्दर्भमा संगठनको सिद्धान्त प्रतिपादन गर्ने भ्लादिमिर लेनिनलाई स्मरण गरिएन भने उनीमाथि अन्याय हुन्छ । लेनिनको सिद्धान्तका आधारमा आज विश्वमा रहेका हरेक कम्युनिष्ट पार्टीहरू सञ्चालित, परिचालित छन् । यही संगठनात्मक सिद्धान्त वा विधि÷नीतिलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भन्ने गरिन्छ । लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरूको व्याख्यासहित कडाइका साथ कार्यान्वयनमा जोडदिन्छ । यसै सिद्धान्तका आधारमा महासचिव भुसालले पार्टीको लक्ष्य, सिद्धान्त र सांगठनिक अवधारणमाथि मिहिन चर्चा गरेका छन् । ‘हाम्रा ऐतिहासिक अनुभवहरू’ शीर्षक दिएर तीन बुँदामा २००६ सालदेख आजसम्म कम्युनिष्ट आन्दोलनले हासिल गरेका उपलब्धिहरूको स्मरण गरिएको छ ।
भ्रष्टारमुक्त पार्टी र संगठन
नेकपा (एकीकृत समाजवादी) ले अघि सारेको महत्वपूर्ण विषय मध्येको एक हो भ्रष्टचारमुक्त पार्टी । घुस नखाने नेता कार्यकर्ताले भरिएको पार्टी । मुलतः उत्पादनसँग जोडिएको भ्रष्टचार मुक्त पार्टीको सुन्दर परिकल्पना अघि सारिएको छ । आफ्नो आर्जनमा बाँच्ने, राज्यलाई कर तिर्ने र तिरेको करको सदुपयोग भएको छ कि छैन ? भनेर सुचित हुने नेता कार्यकर्ताले मात्रै मासाजिक न्यायको परिकल्पना गर्न सक्छन् । जसको परिकल्पना एकीकृत समाजवादीले गरेको छ । सामाजिक न्यायमा आधारित राज्यव्यवस्था स्थापना गर्नु, समाजवादी समाज निर्माण गर्नुका साथै मुलतः दलाल पूँजीवादको अन्त्य गरेर समाजवादको आधार तयगर्नु पार्टीको मुख्य कार्यदिशा हो ।
वर्तमान संसद रूढीवादी विशेषता भएको संसद हो । यसलाई बदलेर राज्यका संसदीय संरचनामा पार्टीको उपस्थिति समाजको प्रगतिशील रूपान्तरणको निम्ति हुनुपर्छ । यसअर्थमा हामी प्रगतिशील संसदवादका पक्षधर हौँ । यसलाई हामीले क्रान्तिकारी संसदवाद भन्छौँ । जो प्रथम हुन्छ त्यो नै योग्य हुन्छ भन्ने रूढीवादी संसदवादलाई बदलेर जो योग्य छ त्यो नै निर्वाचित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसका बीचमा पनि पार्टी नेतृत्वले असल, क्रान्तिकारी, विचारमा स्पष्ट र सिद्धान्तमा निष्ट योग्य, क्षमतावान कार्यकर्ताको पहिचान गरेर पार्टी निर्माणमा जिम्मेवारी दिनुपर्छ ।
त्यस्तै स्थायी पार्टी स्कुलः विचारधारात्मक तथा सैद्धान्तिक कामका बारेमा संगठनात्मक प्रतिवेदनले विचार उत्पादन र पुनरोत्पादनको कामलाई तीव्र पार्नेमा जोड दिएको छ । त्यस्तै पार्टीमा उमेर समूहको प्रतिनिधित्वको कुरा जोडले उठाएको छ । आज हरेक जसो पार्टीमा नयाँ पुस्ताको उपस्थिति निक्कै कमजोर छ । पार्टीलाई प्रभावकारी, जीवन्त र क्रियाशिल बनाउन तहगत नेताहरूको उपस्थिति आवश्यक रहन्छ । पार्टीमा पुराना नेता, पुराना अनुभव, पुराना आग्रह, पूर्वाग्रह, पुरानै अडानको भारी बन्ने तर, नयाँ युगका चुनौतीहरूको सामना गर्ने सामाथ्र्य नराख्ने हुँदा योग्य, सक्षम, प्रभावशाली, क्षमतावान्, विषयगत शिक्ष, ज्ञान हासिल गरेका युवा पुस्तालाई पार्टीका हरेक निकायमा २० प्रतिशत युवा उपस्थितिको परिकल्पना गरिएको छ । सांगठनिक प्रतिवेदनले उम्मेदार चयनको विषयलाई लिएर महाधिवेशनको निम्ति प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरेको छ । जसले गर्दा पार्टीलाई लोकतान्त्रिकरण गर्ने बाटो खुल्छ । केन्द्र, प्रदेश र प्रदेशको प्रभाव स्थानीय तहमा पर्ने रोगले पार्टीलाई गुटबन्दिमा परिणत गरेको तितो यर्थातताको अन्त्य गरेर सबै कमिटी त्यस कमिटीको कार्यक्षेत्रमा अधिकार सम्पन्न हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै आर्थिक पारदर्शिता, विभागका कामको पुनव्र्यवस्थापन, जनसंगठन र पार्टी कमिटीमा प्रतिनिधित्व, जनसंगठनको प्रमुख कार्यभार, राजनीतिक नियुक्तिको प्रक्रिया, पार्टी नेतृत्वमा पुग्ने तेर्सो बाटो, आधुनिक प्रविधियुक्त संगठनलगायतका विषयमा प्रतिवेदन वृह्त छ ।
महाधिवेशनले के गरेन ?
असारमा सम्पन्न महाधिवेशनले राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा अरू कम्युनिष्ट पार्टीभन्दा फरक देखाउने प्रयास गरेपनि गर्नैपर्ने केही महत्वपूर्ण कार्य गर्न सकेन । जस्तो अध्यक्ष, सम्मानित नेता र महासचिवलाई सर्वसम्वत रूपमा चयन गरेको महाधिवेशनले अन्य पदाधिकारी र बाँकी केन्द्रीय कमिटी चयन गर्न सकेन ।
यो महाधिवेशन हलको गम्भीर त्रुटी हो । महाधिवेशनले एमालेबाट गरिएको विद्रोहको पुष्टि गर्नुपर्ने, मुलुक र जनतालाई नयाँ आशावाद दिनुपर्ने थियो । जो कार्यगर्न महाधिवेशन चुक्यो । खासगरी विद्रोहलाई पुष्टि गर्ने नेतृत्व र विचारलाई अनुमोदन गर्नुपर्ने थियो । नेतृत्व भन्नाले कुनै पात्रको कुरा होइन । नेतृत्व सामूहिक शक्ति हो । जुन शक्तिलाई महाधिवेशनले अनुमोदन गर्नुथियो । त्यो कामगर्यो । तर, केन्द्रीय कमिटी र पदाधिकारी चयनमा देखिएको स्वार्थीपनाले पार्टी पंक्तिमा निक्कै विरत्त र निराशा ल्यायो । माथिदेखि तल्लो तहका नेता कार्यकर्ताहरूले पार्टीप्रतिको धारणा बदल्ने खतरा बढ्यो ।
महाधिवेशन मैदनामा अनेकौं विचार, चिन्तन र प्रश्न उठ्छन् । यदि फरक विचार, चिन्तन र तर्क प्रश्नहरू उठेनन् भने त्यो महाधिवेशनको प्रभावकारितामाथि प्रश्न उठ्न थाल्छ । महाधिवेशनमा उठेका प्रश्न र सवालहरूमाथि छलफल गरिनुपर्छ । अनि मात्र जीवन्त पार्टी निर्माण हुनसक्छ ।
अन्त्यमा, महाधिवेशन पारितका निर्णय, विधान, राजनीतिक कार्यदिशा, समाजवादी कार्यक्रम र संगठनात्मक प्रतिवेदन हरेक पार्टी पंक्तिका नेता कार्यकर्ताहरूले गहिरो गरी अध्ययन गरेर जनतालाई हाम्रो पार्टीको कार्यक्रम, विचार, सिद्धान्त यो हो, हामीले देश र जनताका निम्ति यस खालका कामगर्ने लक्ष्य लिएका छौँ भनेर भन्न सक्नुपर्छ । सुन्दा तितो सुनिएला महाधिवेशन राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपमा सफल बनेपनि सांगठनिक रूपमा सशक्त बन्न सकेन । महाधिवेशनको हलबाट पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्य चयन गरिएको हुन्थ्यो भने पार्टीकाप्रति आकर्षण बढ्ने सम्भावना रहन्थ्यो ।
अध्यक्ष, सम्मानित नेता र महासचिव बाहेकका सबै पदमा चुनाव गरेको भए पार्टीको रौनक नयाँ देखिन्थ्यो । खैर, यी सबै सम्भावनाहरू विगत बनिसकेका छन् । आगत कसरी सुन्दर बनाउने भन्ने बारेमा पार्टी केन्द्रीय नेतृत्वले स्पष्टताका साथ अघि बढ्नुपर्छ । भीमकाय केन्द्रीय कमिटीलाई परिचालन गर्न अध्यक्ष र महासचिवलाई फलामका चिउरा चपाउनु जस्तै हुनेछ । साथै महाधिवेशनले पारित गरेको विचार, सिद्धान्त, संगठन र विधान लिएर पार्टी संरचनामा पुग्नुपर्छ । पार्टीभित्र र बाहिर विश्वास गरिएका नेताहरूलाई मूख्य भूमिका दिएर जनजागरणहरू चलाउनुपर्छ । पार्टीभित्र तीव्र रूपमा मौलाइ रहेको दलाल पूँजीवादको विरोध गर्नुपर्छ । यत्ति गर्न सके एकीकृत समाजवादी पार्टी आगामी आम निर्वाचनमा राष्ट्रिय दल बन्नेमा कुनै शंका गर्नुपर्छ भन्ने लाग्दैन ।