Mon. Sep 16th, 2024

मुस्कानसहित सेवामा अठ्यारो परे मलाई भन्नुहोस् : स्वास्थ्यमन्त्री थापा

धादिङ । अस्पताल आइपुगेका बिरामीहरुलाई मुस्कानसहितको सेवा प्रवाह गर्न बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार धादिङ अस्पतालमा मेमोग्राम मेसिन हस्तान्तरण तथा मेमोग्राम सेवा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने–‘अस्पताल आइपुगेका बिरामीलाई मुस्कानसहित सेवा प्रदान गर्नका लागि तपाइहरुलाई केही गारो, साँघुरो, अप्ठ्यारो परेको छ भने मलाई भन्नुहोस् ।’

स्वास्थ्यकर्मीले हप्कीदप्की लगाउँदा बिरामीको मानसिकतामा नकारात्मक असर पर्ने र गुनासो आउने भन्दै मन्त्री थापाले इमान्दारिताका साथ काम गर्न प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाका कर्मचारीलाई आग्रह गरे । ‘तपाई राम्रो गर्नुहोस्, राम्रो गर्दागर्दै कसैले तपाईको इमान्दारितामाथि औला उठाउँछ भने तपाईको पक्षमा म हुनेछु’, उनले भने ।

अनावश्यक मिडियाबाजी र कुरा काट्ने प्रवृत्तिले कुनैपनि सेवा सहज नहुने औल्याउँदै मन्त्री थापाले इमान्दारिताका साथ काम गरेर अस्पतालको सेवा सुधारमा सहयोग गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध पनि गरेका छन् ।

तीनै तहको सरकारबाट स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएर नागरिकले पाउने सेवा सहज बनाउन मन्त्रालय लागिरहेको उनले बताए । प्रादेशिक अस्पतालहरुको स्तरउन्नतिका साथै गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा बागमती प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिरहेको पनि मन्त्री थापाले जानकारी दिए ।
अस्पताल सुधार गर्ने सन्दर्भमा बागमती प्रदेश सरकारले धादिङ अस्पताललाई प्राथमिकतामा राख्ने उनको भनाई छ ।

About The Author

अन्य समाचारहरु: