Mon. Sep 16th, 2024

राजमार्गको दूरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी

शंकर श्रेष्ठ,
धादिङ– बर्खे हिलो, चिप्लो र पहिरोले देशभरकै राजमार्गको अवस्था दयनीय छ । विस्तारको कामले लथालिङ्ग बनेको पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । पृथ्वी राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेसीबाट काठमाडौं पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दूरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामीहरु समेत हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

शुक्रबार दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौं पुर्‍याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छदैछ सुख्खा पहिरोले पनि छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकोले महंगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो ।

राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साविक भन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौ पुर्‍याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डाक्टर मधुकर दाहालले बताए । ‘जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौं लैजान सुझाव दियौं, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्तहरु बाध्य हुनुभयो’, डाक्टर दाहालले भने ।

धादिङबेसीबाट काठमाडौ कलंकीसम्म पुग्न सामान्यतया लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्नै सकिदैन । एम्बुलेन्सलाई पनि धादिङबेसीबाट काठमाडौ पुग्न वा काठमाडौबाट धादिङबेसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । वर्खाको बेला पानी र पहिरोले सडक अवरुद्ध भयो र कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन ।

राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भएपनि अहिले चार घण्टा भन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाई छ । वर्षाैदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्छन्–‘सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङबेसी–काठमाडौ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।’

धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौं भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न अरुबेला भन्दा दोब्बर समय लाग्ने गरेको छ ।
राजमार्गको दूरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार स्थलगत निरिक्षण गरी यो वर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानहरुलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् ।

About The Author

अन्य समाचारहरु: