सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो। यसअघि धरहरा सञ्चालनकाे जिम्मा काठमाडौं महानगरपालिकालाई थियो। काठमाडौं महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो।
२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।
धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउने तयारी छ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ।