काठमाडौं – चाडपर्व नजिकिएसँगै युट्युबको नेपाल ट्रेन्डिङमा फिल्मका गीत शीर्षस्थानमा उक्लन थालेका छन् । दशैंतिहारमा नेपाली फिल्मको बाढी नै आउँदैछ । यसको प्रभाव युट्युब ट्रेन्डिङमा देखिन थालेको हो ।
संविधान दिवसमा रिलिज हुन लागेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ अहिले चर्चामा छ । यो गीत केही दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङमा छ ।
शान्तिश्री परियार र एसडी योगीको स्वर तथा संगीत रहेको गीतलाई अहिलेसम्म ७८ लाख पटक हेरिएको छ । यो गीतको भिडियोले फिल्मको कथावस्तुलाई चित्रण गरेको छ ।
दोस्रो स्थानमा दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्म ‘१२ गाउँ’को गीत ‘सिनेमा हेर्न जाऊँ’ छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा समीर भट्ट र सोनु चन्द्रपालको अभिनय छ ।
गत सातासम्म युट्युब ट्रेन्डिङमा तीजका गीतको दबदबा थियो । क्रमशः तीज गीतलाई रिप्लेस गर्दै अन्य जनराका गीत माथि उक्लन थालेका हुन् ।
बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वरमा रहेको ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा उकालो लाग्ने क्रममा छ । यो गीत आइतबारसम्म ९३ औं स्थानमा छ ।यो गीतको भ्युज पनि बढिरहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई २ करोड ९ लाख भन्दा बढी पटक हेरिएको छ । सात महिनाअघि रिलिज भएको यो गीत अहिले आएर एकाएक ट्रेन्डिङमा देखापरेको हो, त्यो पनि ग्लोबल ट्रेन्डिङमा ।
गत सातादेखि नेपाल सरकारले औपचारिक रुपमै टिकटकको प्रतिबन्ध खुला गरेपछि ‘कश्मीरे पछ्यौरी’ पुनः चर्चामा आएको अनुमान गरिएको छ ।