Tue. Oct 8th, 2024

मगन्तेमुक्तपछि सडक बालबालिकारहित मुलुकको कल्पना : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चालु आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र बनाउने दाबी गरेका छन् । अघिल्लो कार्यकालमा गरेको ‘मगेन्तमुक्त’ सडक बनाउने घोषणा पुरा हुन नपाउँदै उनले सडक बालबालिकामुक्त राष्ट्रकोे घोषणा गरेका हुुन् ।

उनले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले सडक बालबालिकाको अवस्था बदल्ने संकल्प लिएको बताएका हुन्। उनले भने, ‘अहिलेपनि ठूलो संख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकविहिन छन् । उनीहरु शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्था छ । यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको छ ।’

नेपाल बाल संगठनद्वारा यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ लाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै उनले बालिबालिकाहरु उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए । संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्न आवश्यक रहेकोतर्फ पनि प्रधानमन्त्रीले औंल्याएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने निर्णय गरेका छन् । गत साउन २९ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि उनले सडक बालबालिकामुक्त राष्ट्र बनाउने उद्घोष गरेका थिए।

चालु आर्थिक वर्षभित्रै सडक बालबालिकामुक्त राष्ट्र बनाउनेगरी काम अगाडि बढाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । विगतमा गरिएको मगन्तेमुक्त घोषणा कागजमा सीमित भएको छ । राजधानीका अधिकांश सडकमा भिख माग्नेहरुको संख्याका पहिलेको तुलनामा झन् बढेको देखिन्छ ।

About The Author

अन्य समाचारहरु: