काठमाडौं – नेकपा (एमाले)ले आगामी महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्याउने लक्ष्य लिएको छ ।
महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।
“पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्याउने गरी योजना बनाई कार्यान्वयन गर्ने । सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने । नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,” कार्ययोजनामा भनिएको छ ।
प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण दिएर पार्टी काममा जोड्ने जनाइएको छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने जनाइएको छ ।
युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम ९ काउन्सिलिङ०, प्रशिक्षण र तालिम, स्टार्ट अपसम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने कार्ययोजनामा उल्लेख छ ।