Tue. Oct 8th, 2024

शाम्बाला : पेमाको आत्मिक यात्रा

आफ्नै विवाहको तयारी गरिरहेकी पेमा (थिन्ले ल्हामो) लाई थाहा छ, आफ्नो विवाह तीन जना पुरुषसँग हुँदैछ। डोल्पाको बहुपति प्रथाको चलन रहेको समाजमा विवाहयोग्य स्त्रीलाई चलनको विषयमा थाहा नहुने भन्ने पनि हुन्न। पेमालाई जब उनको आमाले स्त्रीको पति बहु भए पनि प्रिय पति भने एकै हुन्छ भनेर सिकाइरहेकी हुन्छिन् त्यसले बहुपति प्रथा र यससँग जोडिएको स्त्रीको मनस्थिति बुझ्न थोरै मद्दत गर्छ र चलचित्रले बोक्ने मर्मलाई सम्बोधन गर्ने छाँट देखाउँछ।

डोल्पा पुगेर आफ्नो दोस्रो फिचर फिल्म खिचेका मीनबहादुर भामले सामाजिक परम्परा, पितृसत्तात्मक चिन्तन, हिमालको सुन्दरता र कुरुपता र दर्शनलाई घोलमेल गरेर सुन्दर फूलबारीको निर्माण गर्नमा धेरै हदसम्म सफल भएका छन्। भामले मक्किइसकेको थोत्रो नेपाली सिने निर्माण विधिमा अन्तिम काँटी नभए पनि धेरै गह्रुंगो हम्मरले प्रहार गरेका छन्। त्यो विधि पुनस् बौरिए नेपाली सिने दर्शकहरुले दुखान्तको अर्को अध्याय झेल्न बाध्य हुनेछन्। चलचित्र हेरिसकेपछि अन्तर्राष्ट्रिय रूपमा ख्यातिनाम प्राप्त भामको दोस्रो चलचित्रले किन यत्रो विघ्न चर्चा पायो भनेर सायदै दर्शकले कपाल दुखाउनुपर्नेछ। तर पनि चलचित्र गति निस्तेज रह्यो भन्ने टिप्पणी प्रति निर्देशक भाम गम्भीर नै रहलान् भन्ने अपेक्षा छ र नेपाली कथा पनि सब(टाइटल हेर्नुपर्‍यो भने निधारका रेखा खुम्च्याएर गरिने टिप्पणी प्रति किञ्चित ध्यान दिनुहुँदैन भन्ने नमागिएको सल्लाह समेत छ।

पेमाको विवाह तीन दाजुभाइ– जेठो टासी (तेन्जिन दल्ह), माहिलो कर्मा (सोनाम तोप्देन) र कान्छो दावा ९कर्म वाङ्याल गुरूङ० सँग परम्परा अनुसार एकै पटक भएको छ। विवाह समारोहमा धार्मिक संस्कार चलाउन बसेको रिम्पोचेले जेठोलाई सफल दाम्पत्य जीवनको, माहिलोलाई परिआए अध्यात्मिक चीवर फेरेर सांसारिक म्याख्ला लगाउने र कान्छोलाई चकचक नगर्ने आशीर्वाद दिएका छन्।

पेमामा स्वविश्वास छ, गहिरो सुझबुझ छ, विवाह गरेर आएको घर र घरका तीन श्रीमान् प्रति राख्नुपर्ने माया र ममतामा सचेत छिन्। माहिलो कर्मा गुम्बा जान खोज्दा आफ्नो घोडा चढेर जान भन्छिन् भने कान्छो दावाको बिग्रँदो पढाइ प्रति चिन्तित छिन्।

पेमा तीन भाइकी एकल श्रीमती भए पनि, जेठो टासीको पेमाप्रति पहिलो हक छ। टासी र पेमा विवाह पछिको प्रेमपूर्ण परिवेशमा यसरी रमेका छन् कि टासीले तिब्बत जाने चिठी गाउँलेका अगाडि पढ्न सुरू गर्दा नै पेमाको बदलिएको भावभङ्गिमाले धेरै गहिरो भावनात्मक रसको छनक मिल्छ।

टासी व्यापारको सिलसिलामा तिब्बतलाई गोडा लम्काइरहेको बेला पेमालाई कान्छो श्रीमान् दावाको पढाइको सिलसिलाले राम सर ९कर्मा० सँग भेट गराउँछ भने सो भेटले पेमालाई अन्तिमसम्म नमेटिने चोट दिन्छ।

पेमाको गर्भमा रहेको भ्रूणलाई समाजले राम सरको हो भनेर हल्ला उडाउन थालेपछि समाजले त पेमालाई लाञ्छना लगाउँछ नै सँगै पेमाको नाबालक श्रीमान् दावाको अहम् समेत चोटिल हुन्छ। तिब्बतबाट घर फिर्ता हुने गाउँलेको भीडमा पेमाले टासीलाई नदेखेपछि पेमाको मनमा चिसो पस्छ।

मनको चिसो टासीको सहयात्रीहरूसँग बाँडेपछि पेमाले गाउँको हल्लाले टासीको मन भरङ्ग भयो र मुख लुकाउन टासी गाउँलेका आँखा छलेर उतै बसे भन्ने थाहा पाउँछिन्। पेमाको टासीलाई भेट्टाउन र कुरा स्पष्ट पार्न निस्किएको यात्राले पेमालाई शाम्बाला प्राप्त हुन्छ, पेमाको आत्मिक यात्रा पूर्ण हुन्छ।

About The Author

अन्य समाचारहरु: