Sat. Oct 12th, 2024

पहिरोले पृथ्वी राजमार्ग शुक्रबारदेखि ठप्प, अझै अनिश्चित

फोटो क्याप्सन पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२ छहरेको पहिरो । शनिबार पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो फरेको छ । सवारी आवागमन ठप्प छ । तस्बिर : शंकर श्रेष्ठ

धादिङ-पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि दयनीय छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड पनि झण्डै ३० घण्टादेखि क्षतविक्षत छ ।

ठाउँ ठाउँमा ठूल्ठूला पहिरोले सडक थुनिएको छ । राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताहरुबाट झरेको स–साना पहिरो गनिसाध्यै छैन । खोला खोल्साहरुबाट उर्लिएको भलसँगै झरेको गेग्रान पनि राजमार्गमै थुप्रिएको छ ।

धादिङ र काठमाडौको सिमाक्षेत्रमा पर्ने खत्रीपौवामा शनिबार विहानै पहिरोमा पुरिएको तीन वटा सवारी अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्नै नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘पानी निरन्तर छ । पहिरो खस्नेक्रम पनि रोकिएको छैन । पहिरोको दुबैतर्फबाट पन्छाउने काम भइरहेको छ’, मिश्रले भने–‘पूर्ण रुपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने संभावना निकै कम छ ।’
पहिरोमा पुरिएको गाडीको स्वरुप मात्रै देखिएको छ । सवारीमा मानवीय क्षति भएनभएको समेत यकिन गर्न सकिएको छैन । वर्षात र पहिरोले विजुली र इन्टरनेटको टावरहरुमा समेत क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटले समेत काम नगर्दा रिपोर्टिङमा समेत प्रहरीलाई नै समस्या परेको छ ।

नौबिसे नागढुंगा खण्डको खत्रीपौवा बाहेक पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे मुग्लिन खण्डको पाइला पाइलामै पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङघाटमा सबैभन्दा ठूलो पहिरो छ ।

गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना पहिरो अत्याधिक छ । शनिबार अपह्रान्नदेखि वर्षात केही कम भएपनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकोले राजमार्ग सुचारु गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । जसोतसो एक ठाउँको पहिरो पन्छाएर भ्याउँदा नभ्याउँदै अर्को ठाउँमा पहिरो खस्ने क्रम सुरु हुने भएकोले थप समस्या परेको उनको भनाई छ ।

पृथ्वीराजमार्गमा दैनिक १३ हजार भन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्ड छ । राजमार्गबाट जोडेर जताततै खनिएकाका अव्यवस्थित कच्ची सडक र विभिन्न खानीहरु नै राजमार्ग अस्तव्यवस्त हुनुको मुख्य कारक हुन् ।

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडक खण्ड भने एकतर्फी खुलेको छ । १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ । हालको लागि एकतर्फी बाटो खुलाइएपछि जोखिम भने घटेको छैन ।

नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम छ । सिद्दलेकको बुङ्चुङ हाइड्रोपावर र मावीखोलाको पहिरो अझ बढी जोखिम छ ।

About The Author

अन्य समाचारहरु: