Mon. Nov 4th, 2024

झ्याप्ले खाेला पहिरोबाट निकालिएको १४ वटै शव शिक्षण अस्पताल पुर्‍याइयो, केहिबेरमा पुनः उद्दार सुरु गरिने

धादिङ – काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पुरिएका सवारीबाट निकालिएको १४ जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएको छ ।
रातीको समयमा उद्दारमा खटिनिभएका धादिङको धुनिवेसी नगरपालिका-९ का वडा अध्यक्ष माधव सिलवालका अनुसार सबै शव माइक्रोबसबाट नै निकालिएको हो ।

बुटवलबाट काठमाडौ आउदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच जना महिला, अन्दाजी १८ महिनाको बालक र आठ जना पुरुषको शव निकालिएको उनले जानकारी दिए । ‘पहिरोमा दुई वटा बस अगाडि र भित्तापट्टीको भाग पुरिएको अवस्थामा छ । तर, बसभित्र यात्रु भेटिएको छैन’, वडा अध्यक्ष सिलवालले भने-‘सबै शव माइक्रोबस भित्रैबाट थुतिएको हो ।’

माइक्रोबस धनीसंगको कुराकानी अनुसार मृत्यु हुनेमा बुटवलबाट १२ जना र नारायणगढबाट चढेका एक जना गरि १३ जना यात्रु र एक जना चालक हुन् । तर, पहिरोमा डुबिरहेको बसको चालक पनि सम्पर्कमा नरहेको कारण सबै शव माइक्रोबसकै यात्रुको भएको यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए।

स्थानीयका अनुसार शनिबार बिहान करिब २ बजेको आसपासमा झ्याप्लेखोलामा ठूलो पहिरो खसेको थियो । त्यतिबेला नै माइक्रोबस (विंगर भ्यान) पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

माइक्रोबसलाई गयराती पहिरोबाट बाहिर निकालिएपनि पहिरोमा फसेका अन्य दुई वटा बसको उद्धार केहिबेरमा थालिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए। र्‍याकर र डोजरको सहायतामा उद्दार सुरु गरिनेछ । उद्दारको लागि प्रहरी उपरीक्षक सहितको टोली झ्याप्लेखोलातर्फ जाँदैछ ।

पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत छ ।

About The Author

अन्य समाचारहरु: