धादिङ । देशका पूर्व पश्चिमका जिल्लाहरु जाने यात्रुबाहक सवारीहरु काठमाडौबाट छुटेसँगै त्रिभुवन लोकपथको नौबिसे नागढुंगा खण्ड र पृथ्वी राजमार्गमा अत्याधिक जाम लागेको छ ।
जोखिमपूर्ण क्षेत्रमा जाम हुन नदिन मंगलबार बिहानदेखि काठमाडौं भित्रिने साना सवारीलाई वैकल्पिक सडक प्रयोग गराउँदै ठूला सवारीलाई खुल्ला स्थानमा रोकेर नागढुंगा नौबिसे सडकमा काठमाडौबाट बाहिरिने सवारीलाई मात्रै प्रवेश गराइएपनि काठमाडौंबाट बाहिरिने सवारीहरुले नै यो क्षेत्रमा जाम लागेको हो ।
साना तथा हलुका सवारीहरुले वैकल्पिक सडक प्रयोग गरिरहेपनि बझाङ, बाजुरा, कालिकोट, धनगढीलगायत पूर्व र पश्चिमका जिल्लाहरु पुग्ने ठूला यात्रुबस र पेट्रोलियम पदार्थ, ग्याँस तथा खाद्यान्न बोक्ने ठूला ट्रकहरु जाममा परेका छन् ।
नागढुंगा नौबिसे क्षेत्रमा रहनुभएका पत्रकार शिवराज आचार्यका अनुसार अहिले जाममा फसेका अधिकांश ठूला सवारी मात्रै छन् । काठमाडौको नागढुंगादेखि धादिङको सिम्लेसम्ममा दुई हजार भन्दा बढी सवारीको लाम लागेको छ ।
नौबिसे नागढुंगा खण्डको सबै क्षेत्रमा सडक दुईतर्फी नभैसकेकोले थप समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाल सिलवालले जानकारी दिए । उनका अनुसारसाना तथा हलुका अधिकांश सवारीहरुलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौतर्फ पठाइएको छ भने गल्छी भन्दा माथीतिरका सवारी र अत्यावश्यकीय साना तथा हलुका सवारीलाई धार्के बजारबाट सितापाइला काठमाडौको सितापाइला निस्कले वैकल्पिक बाटो प्रयोग गराइएको छ ।
सवारी जामले अस्तव्यस्त बनिरहेको नौबिसे नागढुंगा क्षेत्रमा थप जाम लाग्न नदिन काठमाडौ भित्रले ठूला बसहरुलाई खानीखोला क्षेत्रमा र मालबाहक ट्रकहरुलाई महादेववेसी क्षेत्रमा रोकेर राखिएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए ।
काठमाडौ भित्रिने माइक्रोबस, जिप, कार, मोटरसाइकल, एम्बुलेन्स लगायतका सवारीहरुले भने गल्छी–नुवाकोट–टोखा र धार्के सितापाइलाको बाटो प्रयोग गरिरहेका छन् ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अहिले धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्रहरी उपरीक्षक सुवेदीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर दुईतर्फी सडक संचालन गर्न निर्देशन पनि दिएका छन् । तर, जाम लागिसकेको सवारी पास नगराएसम्म पहिरो पन्छाउन सक्ने अवस्था देखिएको छैन ।