काठमाण्डौ – कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ । मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्नेछ ।
यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना कम छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् मानन्धरले बताए। तर यसअघिको वर्षाले देशका सबै भू–भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको छ ।