धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिए सवारी एकतर्फी भएको छ ।
बुधबार दिउँसो सडक भासिएर त्रिशूली नदीतर्फ बगेपछि सवारी एकतर्फी भएको हो । सवारी एकतर्फी भएको स्थानमा प्रहरीले आलोपालो गरी सवारी संचालनको व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
नदी किनारदेखि नै सडक भासिन सुरु भएकोले ठूला सवारीलाई दुईतर्फी संचालन गर्न सक्ने अवस्था छैन । साना सवारीहरुले भने सहजै आउजाउ गरिरहेका छन् । ठूला सवारीहरुलाई आलोपालो गरी भासिएको स्थानबाट पास गराइरहेको सिलवालले जानकारी दिए ।
पृथ्वी राजमार्गको जोखिमपूर्ण स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ । संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र पहिरोको जोखिम देखिएका स्थानको पाँच सय मिटर पर सवारी रोकेर व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ ।
भासिएको स्थानको बुधबार साँझ धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित भुगर्भविद्को टोलीले अनुगमन गरेको छ । वर्षाै पहिले पनि त्यस स्थानमा पहिरो चलेकोे र अहिले फेरी भासिएकोले तत्काल मर्मत गर्ने संभावना नहरेको भुगर्भविद्को टोलीले सुझाव दिएको छ ।