धादिङ -पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ ।
अनुगमनको क्रममा बुधबार बेलुका पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार जरिवाना तिराइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले नछोपी राखेको खानेकुरामा झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को उपदफा ३९ को १ को (क) बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुन बमोजिम हदैसम्मको कारवाही गरिने समेत अनुगमन टोलीले चेतावनी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक दिपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणी पुरीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा रिसोर्ट र खाद्यान्न पसलहरुको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत गराइएको र कार्यविधि अनुसार बिक्री गर्न निर्देशन दिईएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिए।
चाडपर्वको बेला जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता अर्यालले बताए। चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उनको भनाई छ ।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।