Mon. Nov 4th, 2024

छतमा यात्रु बोक्ने सवारीलाई २० हजारसम्म जरिवाना

धादिङ– जोखिमपूर्ण तरिकाले निर्बाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीले छतमा समेत खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाई गरेको हो ।

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउदै गरेका जीपहरुलाई बीच बाटोमै रोकेर २० हजारसम्म जरिवाना गराइएको छ । पटक पटक सचेत गराउँदा पनि अटेर गरेकोले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिहरुलाई राखेर सवारी संचालनका विषयमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढंगबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जीपहरु कारबाहीमा परेका हुन् ।

केहीदिन यता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हित विपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही समेत गर्दै आएको छ ।

अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीले यात्रु बोकेको फेला पारेपछि र यात्रुबाहक सवारीमा सीट क्षमता भन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी समेत नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई वटा बोलेरो जीपलाई २०/२० हजार जरिवाना गरिएको छ । क्षमता भन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जीपलाई नियन्त्रणमा लिई जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चुणामणि पुरिले जानकारी दिए ।

चालकसहित पाँच जना चढ्न मिल्ने सीट भएको जीपमा २० जना भन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जीपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: