२२ भदौ, धादिङ – विनाशकारी भूकम्पमा ज्यान गुमाएका धादिङका दुईजना निजामती कर्मचारीलाई निजामती सेवा दिवस, २०७२ को अवसरमा मरणोपरान्त सम्मान गरिएको छ । सम्मानित हुनेमा सेवामा कार्यरत रहेकै अवस्थामा वैशाख १२ गतेको भूकम्पमा ज्यान गुमाउने मार्पाक स्वास्थ्य चौकीका सिनियर अनमी रामकुमारी अधिकारी र तिप्लिङ गाविसका सचिव जङ्गबहादुर राई रहेका छन् ।
प्रभात फेरीपछि आयोजना गरिएको कार्यक्रममा निजामती दिवस जिल्ला समारोह समितिका अध्यक्ष प्रजिअ वासुदेव घिमिरेद्वारा मृतक रामकुमारीका पति गोपीबहादुर अधिकारीलाई र मृतक जङ्गबहादुर राईको आफन्त आइनपुगेकाले आफन्तलाई पठाइदिने गरी स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापालाई रु पाँच हजार नगदसहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो । दिवस मनाउन आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम हुने डिल्लीराम रिजाल, द्वितीय हुने सुदीप छत्कुली र तृतीय हुने कृष्णलाल श्रेष्ठलाई क्रमशः रु एक हजार ५००, रु एक हजार र रु ५०० नगद पुरस्कार प्रदान गरिएको थियो ।