Wed. Dec 4th, 2024

‘हार’हरुको उत्सव बन्दैछ ‘तिहार’

–रामकुमार एलन
खोइ के रोप्यौँ हामीले, के फलायौँ यसरी ? नफलेको भए छोराबुहारी मात्र होइन छोरीज्वाइँ र नातिनातिना पनि विदेशमा छन् । फलेको भनौँ भने डिजिटल भित्तामा मात्रै हामी सीमित हुँदै गएका छौँ । अरु त अरु काठमाडौ, देशको राजधानी जोडिएको जिल्ला धादिङ, मकवानपुर, भक्तपुरसँग नुवाकोट, चितवन, काभ्रे पनि धमाधम रित्तिँदैछ । गाउँबस्ती खाली हुँदैछन् । गाउँमा बाटो पुगेको छ, अब त सुविधासम्पन्न बस सेवा पनि छ । तर गाउँबाट शहर आउने मात्रै छन्, शहरबाट गाउँ फर्कन काठमाडौ बेस्सरी बिरामी हुनुपर्छ । जस्तो नाकाबन्दीले काठमाडौ निसास्सिन पर्छ, कोरोनाले थला पर्नु पर्छ, बालेन्द्र साहले फुटफाथमा बस्न नदिने गरी नगर प्रहरी लगाएर लखेट्नुपर्छ । डेंगुले शहर त्राहिमाम हुनुपर्छ । भूकम्पले जोडले काठमाडौ हल्लाउनु पर्छ । अब त चाडपर्वमा पनि परिवार गाउँ आउन छाडेका छन् । यसैले हामीले सुखको खोजीमा देश खाली गरिरहेका छौँ । राजनीतिलाई दोष दिएर भएका सन्तति र सम्पत्ति देशबाहिर पठाउन होड गरिरहेका छौँ ।

यसमा राजनीतिक दलहरुको दोष कति हो ? नागरिकको दोष कति हो ? कतै हामी पछिल्लो ३५ वर्ष बढी आक्रोशित मात्र भयौँ कि ? भावनामा मात्रै बगेर फेरि यिनै बदमासहरुलाई दोहो¥याइ–तेह¥याइ भोट दिएर समय बर्बाद गर्यौँ कि ? हामीले समय मात्र बर्बाद गरेनौँ । देश बर्बाद गरेका छौँ । राजनीति रसातलमा पुर्याएका छौँ । हिजो संगठन गरेर दल बनाउनेहरु आज चुनावमा टिकट पाए पनि उठ्ने खर्च नभएर राजनीतिक सिकार भएका छन् । गाउँकै छरछिमेका जग्गा बेच्ने, बालुवा बेच्ने, हेर्दाहेर्दै ससानो ठेक्काबाट उदाएका नयाँ र टुप्पिएका दादाहरु नेता भएका छन् । प्रदेश सरकारका मन्त्रीहरु हेर्नुहोस् । तपाईंका लागि यी मन्त्री कहिल्यै काम आएको देख्नु भएको छ ? अथवा हामीले जिताएका नेताहरु किन धनी मात्र हुन लागिरहेका छन् ? राजनीतिमा लागेर गरिबीबाट माथि उठ्न नसकेका कैयौँ गुरुहरु आज किन राजनीतिमा यस्ता आवारा गुण्डाराजको विरोध गर्न सकिरहेका छैनन् ? यो विषय हामीले राजा सत्तामा हुँदा जति विरोध गरेका थियौँ । त्यस्तै गरी माओवादी सत्तामा पुग्दा खबरदारी गरेनौँ । त्यसपछि एमाले–कांग्रेस–माओवादीलाई खबरदारी गर्न आएका रेशम चौधरीदेखि रवि लामिछाने हुँदै सिके राउतहरु पनि सत्ताको वरिपरी रमाइरहँदा आज नेपाली जनताको अवस्था के छ ? थारुका छोराको दिन आयो ? मधेशी जनताले साँच्चै आजाद मधेश पाए ?

यति मात्र होइन, हामीले भाषा बिगारेर आज छोराछोरीलाई तरकारी किन्न जान नसक्ने बनायौँ । एकसय रुपैयाँ दिएर तरकारी किन्न पठायौँ र तरकारी पसलले तरकारीको मूल्य नेपालीमा भने ‘यो भनेको कति ममु’ भन्दै छोराछोरी तरकारी छाडेर सोध्न आउलान् भन्ने डर भयो । विद्यालय, कलेजकै सूचनाहरु पढेर हामीले भाषामाथि गरेको बलात्कारको क्षमापूजा नगरी नहुने भएको छ । संस्कृति उस्तै बिगार्यौँ । हाम्रो इतिहास नै छैन । धादिङको चेतना के थियो, धादिङको आजको यो अवस्था बनाउने ती तमाम परिवर्तनका पात्रहरुबारे कतै चोकचौतारमा चर्चा हुँदैन, कलेज र स्कुलमा पढाइ हुँदैन । बरु आशिका तामाङ आएर धादिङमा मूल्यवृद्धि घटाउन एक घण्टा कराइन् भने ‘वाउ, हिम्मतिली छोरी’ भनेर तपाईं हामी हाम्रै पैसाले चिया खाएर बोल्ने भयौँ तर झुक्केर पनि कांग्रेसले एमालेका नेता र एमालेका नेताले अरु पार्टीका नेताको इतिहास, योगदान, त्यागबारे बताउन छाड्यौँ । धादिङका राम्रा, ठूला समाचार लेख्ने पत्रकारहरु आज दैनिकी चल्न नसकेर बेहाल भइरहेका छन् । नयाँ युट्युबर र आयातीत पत्रकारहरुसँग नेता र सामाजिक संस्था चलाउने अनि ठेक्कापट्टा गर्नेहरुको बाक्लो दोस्ती छ । केन्द्रदेखि जिल्लासम्म र जिल्लाबाट सदरमुकाम हुँदै आफ्नो वडासम्म हामीले पछिल्लो ३५ वर्षमा भित्र्याएको विकृतिले हामीलाई कसरी चेपेको छ ? कहिल्यै सोचेनौँ र त देश आज बस छुटेपछिको प्रतीक्षालय जस्तो हुँदैछ । बस आउनुअघि भरिभराउ हुने प्रतीक्षालय बस छुटेपछि कस्तो सन्नाटाको सिकार हुन्छ, देश त्यस्तै भएको छ । देश यस्तै बनाउनुमा नेताहरुको दोष थियो नै हामीले समयमा खबरदारी नगरेर उनीहरुलाई नै पटकपटक भोट दिएर अरु मदत गरेकै हौँ । यसो भनेर अहिले नै हिमेश पन्तहरुले सांसद हुने रहर गर्ने बेला पनि भइसकेको छैन भन्ने पनि हामी नै हौँ ।

हामीले नयाँलाई पनि भोट दिएका हौँ । पुरानालाई पनि माया गरेकै हौँ । कहिले संघ र कहिले प्रदेशमा उठ्दा पनि विश्वास गरेका हौँ । तर आज हाम्रो विकास मोडल कस्तो छ ? हिजो जिल्ला विकास समिति हुँदाका राजनीति गर्नेहरुले यस्ता कुरा भनिदिएनन् । चोकमा नयाँ र जान्नेहरु आएर बोलेको पत्याउन थालियो । उनीहरुको कुरामा न विगतको अनुभव छ, न भोलिको सपना । अब जिल्ला विकासकै कुरा गरेँ । जिल्ला विकास समिति थिए । त्यहाँ इलाकाबाट जित्ने सदस्यहरु हुन्थे । एउटा जिल्लाका विभिन्न इलाका घोषणा हुन्थ्यो । जिल्ला परिषद् हुन्थ्यो । त्यसअघि गाउँमा विकास के के चाहिएको छ भनेर इलाकास्तरीय योजना तर्जुमा गोष्ठी हुन्थ्यो । प्रत्येक इलाकामा हुने यस्ता गोष्ठीले गाउँ, वडाको सहभागिता गराउँथ्यो । गाउँमा पाइप चाहिएको, बाटो चाहिएको जनप्रतिनिधि आफैँ गएर हेरेर आउँथे । जिल्ला परिषद्मा यहीअनुसार बजेट बन्थ्यो । बजेट बनेपछि विकास गाउँमा पुग्थ्यो । यस्तो लोकतान्त्रिक र पारदर्शी प्रक्रिया हामीले मास्यौँ । अहिले क्रसर हेर्ने, हल्ला गर्ने, फेसबुकमा रमाउने एउटा संयन्त्र छ, त्यो जिल्ला विकास समिति मासेर बनाइएको संयन्त्र हो । गहुँमा कालो ठेमाहा देखिएजस्तै जिल्ला विकास समितिकै ठेमाहा हो यो र यसको नाम छः जिल्ला समन्वय समिति । यसको संरचना पनि त्यही हो, वडा सदस्यहरुको क्लब । अझ रमाइलो पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले भोट हाल्ने वडासदस्यहरु । तर यसले न इलाका चिन्दछ, न जान्दछ । न बुझ्दछ । वश राजनीतिक भागवण्डामा हिजो आउनेहरु गाउँसँग जोडिएकाले विकासको मोडल ल्याउँथे । यिनीहरु चैँ आम्दानी, राजश्वका नाममा क्रसर नाप्दै हिँड्छन् । यिनीहरुसँग जिल्लाको विकास गर्ने बजेट पनि हुन्न । वश जिल्ला विकास समितिको ठेमाहाका रुपमा राज्यधन सकाउने काममा यस्तो समन्वय समिति केही बेरोजगारको ‘टाइमपास’मा सीमित छ ।

राजनीतिक संयन्त्र यस्तै बनायौँ । संघीयताको अभ्यासका नाममा हामीले धर्म मास्यौँ । हिन्दू धर्म किन चाहियो भनियो । धर्मसँगै भाषा गयो । भाषा न अंग्रेजी राम्रो भयो, न नेपाली भाषा नै बोल्न सक्यौँ । सुनेको छु, लोकसेवा आयोगले समेत जाँच लिँदा अंकलाई अंग्रेजीमा लेख्यो भने गलत भन्दैन रे, यस्ता वाहियात माननीयहरु हामीले नै पार्टीमा ठेमाहा जसरी हुर्कायौँ र आयोगमा पठायौँ । उहाँहरुले पहिला चन्दा दिएर पार्टी बिगार्नु भयो । अनि पार्टीका नेताहरु बिगार्नु भयो । अहिले भाषा बिगार्न लाग्नु भएको छ । संस्कृति बिगार्नु भएको छ । उहाँहरुको विरोध गर्यौँ भने भएको जग्गाको पाटो बेचबिखन गरेर विदेशिनु हुन्छ । विदेश गएर भन्नुहुनेछ, ‘देशमै केही गरौँ भनेको गर्ने वातावरण नै छैन, पार्टीका झोलेहरुलाई मात्रै फलिफाप छ देशमा ।’ हो, पार्टीमा साँच्चै झोलेर भएर हिँडेकाहरुको जिन्दगी बर्बाद छ । तिहार खर्च छैन । दशैँ खर्च नभएर ऋण लागेको छ । तर पछि पार्टीमा टाँसिएका यस्तै ठेमाहा र काउसोहरुलाई देश फलिफाप छ । यति, ओम्नी, भ्युटावर, ठेक्कापट्टा, जग्गा प्लटिङ, ढुंगागिटीबालुवा, वडादेखि केन्द्रसम्म, सहकारीदेखि आयोगसम्म मौका छ । यस्तैहरु तपाईं हामी घरबाट पार्टीलाई कर (लेबी) तिर्नेहरुलाई उल्टो झोले भन्छन् ।

हेर्दा त केपी शर्मा ओलीले नेपालको नक्सा बढाएका छन् । सगरमाथा पनि केही अग्लो भएको भनेर नापेरै देखाएका छन् । यसरी देशलाई संसारमा अब्बल बनाउने भनेर तपाईं हामी पनि ऋणपान गरेर देशमै सकेको गरिरहेका छौँ । तर राजनीति बिग्रँदा देश कसरी सकिँदोरहेछ ? हामीले यसरी हेर्दै–भोग्दै आएका छौँ । झट्ट हेर्दा सबै छ । वडाध्यक्ष छन्, नेता छन्, टोले गुण्डा छन् । बजार बढेको छ । गाउँका डाँडाकाँडामा बाटो खनिएको छ । बने बाटो, नबने पहिरो । अख्तियारले पनि वडाध्यक्षदेखि पालिकाका मुखिया र कर्मचारीलाई पेलेकै छ । सरकारले सुशासनको कुरा गरेकै छ । तपाईं हाम्रै टोलका, टोलका नपरे पालिकाका, पालिकाका नपरे जिल्लाका नेताहरु मन्त्री पनि भएका छन् । मन्त्री पनि यस्ता भएका छन् कि, जेबारे उनलाई केही ज्ञान छैन, त्यही मन्त्री बनाइदिएका छन् । पालैपालो अवसर पनि पाएका छन् । मिलेर देशको बजेट खाएका छन् । बजेट खान नपाउनेहरुले टिभी चलाउने भनेर जनताको बचत पनि जिल्लाबाट काठमाडौ लगेर खाएका छन् । कहिले अंगालो हालेर नाचेका छन् । कहिले जुठो परेको भनेर सडकमा उफ्रिएका छन् । यस्तोबेला तपाईं हामीले साँच्चै छातीमा हात राखेर सोचौँ त । के दशैँमा गाउँ रमाइलो भयो ? तिहार रमाइलो हुनेवाला छ ?

रमाइलोका लागि गाउँमा युवा हुनुपर्छ । पछिल्लो तीन महिना साउन, भदौ र असोजमा विदेशिनेको संख्या दैनिक १ हजार ९ सय पुग्न थाल्यो । जुन सरकार आए पनि जस्तो बहुमतको सरकार आए पनि जनतामा निरासाको धर्को न पुरानाले मेट्न चाहे, न नयाँले मेट्छु भनेर गफ लगाएजसरी सत्तामा पुगेपछि मेट्न खोजे । जताबाट पनि जनता हारेको छ, देश हारेको छ । सभ्यता मारेको छ । संस्कृति सिध्याएको छ । युवापुस्तामा निरासाले घरघरमा डिप्रेसनका बिरामी छन् । सुगर, प्रेसरजस्ता सामान्य खानपान सुधारले निको हुने रोगले हामीलाई मारिरहेको छ । धेरै चिढिने, रिसाउने भएका छौँ । पुख्र्यौली सम्पत्ति खैँचेर विदेशिन थालेका छौँ । पृथ्वीनारायण शाह भन्थे, ‘जिन्सी दिनू, नगद खैँचनू ।’ तर हामी भएको जिन्सी बेचेर, नगद डलरमा भुक्तानी गरेर सन्तान पनि दिइरहेका छौँ । यसैले सबैतिर हारैहार हुँदा पनि तिहार मनाउन तयारीमा छौँ । यसले निरासा मात्रै दियो, उत्साह जगाएन भन्नुहोला, देश यस्तै हुँदैछ, आसा त हामी गरिरहेकै छौँ । र, तिहारको शुभकामना सबैलाई ।

About The Author