Wed. Dec 4th, 2024

सहकारी ठगी प्रकरण :सिआइबीले धनराज गुरुङसँग लियो बयान

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज बयान लिएको छ।

लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा बोलाएर मितेरी सहकारी ठगीबारे उनीसँग बयान लिइएको हो। झण्डै ५ घण्टा बयान लिएपछि घटना विवरण कागज गराएर छाडिएको सिआइबीले जानकारी दिएको छ।

मध्याह्यनदेखि साँझ ५ बजेसम्मै सोधपुछ गरिएको थियो। सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उनीसँग सोधपुछपछि कागज गराएर छाडिएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूबीच २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि पनि उनीहरू सँगै बस्दै आएको र दायित्व बेहोर्दै आएको समाचार सार्वजनिक भएको थियो ।

सार्वजनिक विवरण अनुसार सहकारीको दायित्वबाट छुटकाराका लागि उनीहरूले सम्बन्धविच्छेद गरेका आरोप लगाइएको छ । हाल ज्योतिसहितका आरोपीमाथि रेड नोटिस जारी भइसकेको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनबारे सोधपुछ गरेको जानकारी दिएको छ। मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन भएको भेटिएको छ।

About The Author

अन्य समाचारहरु: