Tue. Jan 14th, 2025

प्रधानमन्त्री ओली भन्छन्: चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको र चीनसँग यस्तो कुरा पनि नभएको बताएका छन् । आफूले यो भ्रमणमा ऋण सम्झौता नगरेको ओलीको भनाइ छ । आफूले पटक–पटक यो विषयमा स्पष्ट पार्दा पनि अनावश्यक हल्ला भइरहेकोमा ओलीले असन्तुष्टि जनाए ।

‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटक–पटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’ तर प्रधानमन्त्री ओलीले ऋण सम्झौता नभएको बताए पनि बीआरआईको फ्रेमवर्कमा सहायता शब्द उल्लेख भएकाले नेपालले ऋण सम्झौता नकारेको मानिँदैन । फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ । ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।

पत्रकार सम्मेलनमा ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताएका छन् । ओलीले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर अब व्यवस्था मिलाउनुपर्ने बताए । ‘अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’ ओलीले भने ।

आफ्नो चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले अनावश्यक बहस चलाएको ओलीको सङ्गेत छ ।उनले एमाले र कांग्रेस नेतृत्वको सरकारले पूर्ण कार्यकाल सरकार चलाउने पनि बताएका छन्। अबको १७ महिनापछि आफूले सरकारको नेतृत्व कांग्रेसलाई दिने ओलीको भनाइ छ ।

About The Author