Tue. Jan 14th, 2025

कञ्चनपुरमा पहिलोपटक दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा देखियो

कञ्चनपुर – हिमालय पर्वतमा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एसोेसिएशनका सुवन चौधरी र महानन्द जोशीको टोलीले चरा फेला पारेका हुन् ।

हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्छ । तराई क्षेत्रमा आउने भए पनि विरलै देखिने र कञ्चनपुरमा भने पहिलोपटक देखापरेको चराविज्ञ डगौराले बताउनुभयो ।

उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्छ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ ।

तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्छ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

About The Author