काठमाडौं-आधुनिक गीत (सुगम संगीत) र लोकगीतलाई नेपाली संगीतको मूलधार मानिन्छ । यी दुवै जनराका सदावहार श्रोता छन् । त्यसमाथि पनि एक समय आधुनिक गीतले एकछत्र नै राज गरेको थियो भन्दा अन्यथा नहोला । किनकि यो जनराले सबै खाले श्रोतालाई आकर्षित गर्छ । एक समय पपगीतले पनि राज गर्यो ।
पछिल्लो समय गीतको लोकप्रियताको मापन नेपालमा युट्युब भ्युज र ट्रेन्डिङ आधारमा गरिन्छ । यसमा पनि लोक र आधुनिक जनराकै संगीतको वर्चस्व देखिन्छ । पछिल्ला केही वर्षयताको ट्रेन्ड हेर्ने हो भने युट्युब भ्युज र ट्रेन्डिङमा लोकगीतहरुको कब्जा नै देखिन्छ । शान्तिश्री परियार, प्रकाश सपुत, शान्तिरानी परियार, बुद्धिकृष्ण परियार, प्रकाश दूतराजका गीतहरुले युट्युब उल्लेख्य भ्युज पाउने गरेका छन् ।
पछिल्लो केही महिनायता हेर्ने हो भने नयाँपुस्ता र जनराका गीतहरु सुन्ने जमात् बढिरहेको देखिन्छ । नयाँपुस्ता अर्थात् ‘जेन जी’को प्रतिनिधित्व गरिरहेका छन्, सज्जनराज वैद्य, सुशान्त केसी, एकदेव लिम्बू, जोन राई, स्वप्न सुमनहरुले । सुगम संगीतमा रामकृष्ण ढकाल, राजेशपायल राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, मेलिना राई, अस्मिता अधिकारी, सुजन चापागाईं लगायत कलाकारको ‘सदावहार’ उपस्थिति छँदैछ ।
तर पनि युट्युबलाई आधार मानेर हेर्ने हो भने जबर्जस्त रहेको लोकगीतको उपस्थितिलाई नयाँपुस्ताका फरक जनराका गीतले चुनौती दिन थालेको अवश्य लाग्छ । आधुनिक गीतको उपस्थिति त निकै पातलो भइसकेको छ । तीन सातादेखि युट्युबको म्युजिक खण्डतर्फ नेपाल ट्रेन्डिङमा शीर्ष स्थानमा रहेको एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । त्यस्तै सुजन चापागाईं र विद्या तिवारीको ‘एक्लै भए नि’, स्वर र जोन राईको ‘बादलसरी’, छेवाङको लामाको ‘एकोहोरो माया’, स्वप्न सुमनको ‘तिम्रो बोलीमा’ लगायत गीत ट्रेन्डिङमा छन् ।
धेरै संगीतकर्मीहरु नयाँ जनराका गीतको उपस्थिति हुनु राम्रो भए पनि स्तरीयतामा भने ध्यान दिन जरुरी रहेको बताउँछन् । ‘लोक मात्रै होइन, जुनसुकै जनराका गीतमा भल्गर शब्द भएका गीतको चर्चा भइरहेको देखिन्छ । तर दुस्ख गरेर बनाएका गीतहरूले नेपाली बजारमा राम्रो स्थान नपाएको जस्तो पनि देखिन्छ,’ संगीतकार आशिष अविरल भन्छन् ।
पछिल्लो हिट गीत ‘रैया चाँदीको’का संगीतकार तथा गायक अविरलले नयाँपुस्ताका दर्शक-श्रोतासँगै गीत-संगीतप्रतिको रोजाइमा फरक आएको बताए । ‘अहिलेको समय टिकटक र रिल्सको हो । दर्शक गीतको शब्दमा भन्दा पनि गीतको बिटमा रमाइरहेका छन्,’ अनलाइनखबरसँग उनी भन्छन्, ‘दर्शकलाई १५ सेकेन्डमा गीत मनपर्यो भने गीत राम्रो सोच्नुहुन्छ, नत्र चासो दिनुहुन्न । जबकि आधुनिक गीतले बिस्तारै दर्शकको ध्यानाकर्षण गराइरहेको हुन्छ । त्यसैकारण पनि आधुनिक गीतको चर्चा पछिल्लो समय घटेको हुनसक्छ ।’
नेपाली गीतमा विदेशी मेलोडी मिसाएर फरकपन दिइएका राम्रा गीतहरूलाई दर्शक-श्रोताले धेरै मन पराइरहेको अविरल बताउँछन् । कस्तो गीत मनपर्ने भन्ने कुरा परिस्थितिमा पनि भर पर्ने उनी बताउँछन् ।
‘समय परिस्थितिअनुसार दर्शकको रोजाइमा गीत पर्ने हुन्छ । १० वर्ष पुरानो गीत फेरि अहिले भाइरल भएको पनि छ । कहिले भर्खर निकालेको गीत पनि चल्दैन,’ उनी भन्छन् ।
पछिल्लो समय आधुनिक गीत छायामा पर्नुमा ‘कन्ट्रोभर्सी’का कारण हिट भइरहेका गीतले पनि असर गरेको उनको भनाइ छ । अबको समयमा आधुनिक सङ्गीतलाई पुनस् नयाँ तरिकाले अगाडि लैजान सङ्गीतकर्मीले विशेष प्रयास गर्नुपर्नेमा अविरलले जोड दिए ।
सुगम संगीत विशेषगरी लोक-आधुनिक गीतमा रुचाइएका गायक सुनिल गिरी पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा आइरहेको बदलाव हेर्दा अहिलेको पुस्ताले नयाँ ‘टेस्ट’ खोजेको रुपमा लिनुपर्ने बताउँछन् ।
‘नयाँ पुस्तासँगै दर्शकको गीत(सङ्गीतप्रतिको रुचि फरक हुँदै जान्छ । नयाँ तरिकाले दर्शकको चासोप्रति ध्यान दिएर निरन्तरता दिन सके आधुनिक गीतलाई पुनस् पहिलेको ठाउँमा ल्याउन सकिन्छ,’ उनी भन्छन् ।