काठमाण्डौ – सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण बेलुकीपछि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो । यो प्रणालीको प्रभाव पर्सि बुधवार बिहानसम्म हुने र वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित हुने देखिएको मौसमविदको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले काठमाण्डौ र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको बताएका छन् । अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रवार आउने, तर त्यो पनि पश्चिम क्षेत्रमा मात्र रहने देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
गएको मङ्सिर २३ र २४ गते देशका केही ठाउँमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा तथा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।