Thu. Jan 23rd, 2025

अरु प्रदेशका तुलनामा भन्दा मदेश प्रदेशमा अपाङ्गता भएका बालबालिका बढी

जनकपुर – मधेश प्रदेशका जिल्लामा अरु प्रदेशका तुलनामा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या बढी रहेको छ ।

राष्ट्रिय बालअधिकार परिषद र सेभ द चिल्ड्रेनको सहयोगमा हिजो भएको प्रदेशस्तरीय छलफल कार्यक्रममा मधेशमा अरु प्रदेशका तुलनामा अपाङ्गता भएका बालबालिका बढी रहेका जानकारी दिइएको हो ।

राष्ट्रियस्तरमा एक दशमलव २३ प्रतिशत अपाङ्गता भएका बालबालिका रहेकामा मधेशमा बढी रहेको पाइएको परिषद्का प्रशासन महाशाखाका प्रमुख एवम् सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए ।

उनीहरूको स्वास्थ्य शिक्षा तथा सीप विकाससँगै रोजगारीमा नीतिगत तहदेखि नै योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्ने उनको भनाइ छ । उनले प्रस्तुत गरेको कार्यपत्रमा अपाङ्गता हुनसक्ने जोखिम कम गर्न गर्भवतीको नियमित स्वास्थ्य जाँचसहित स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीका प्रतिनिधि दिपक माझीले कार्यपत्र प्रस्तुत गर्दै गर्भमा रहेको शिशुको नियमित परिक्षण गरी स्वास्थ्य अवस्था पहिचान गरेर सुरक्षाका कदम चालेमा जन्मिँदै अपाङ्गता हुनेको सङ्ख्यामा कमी ल्याउन सकिने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले अपाङ्गता भएकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा उपमहानगरले योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै अपाङ्गता भएकाको वर्गीकरण गरेर सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र दिन थालिएको जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: