धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा नम्बर ४ का वडाअध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आयोगले आइतबार मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ । यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ ।
आर्थिक वर्ष २०६६÷७७ सालमा बोराङ टिकट काउण्टरदेखि मुक्रावदेवी माविसम्म शाखा सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिप तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
वडा अध्यक्ष प्रशान्त तामाङले भने शाखा सडक निर्माण गर्दा कुनै पनि किसिमको भ्रष्टाचार नभएको र विपक्षी दलका नेता कार्यकर्ताहरुले राजनीतिक प्रतिशोध राखेर आफ्नो चरित्र हत्या गर्न खोजेको प्रतिकृया दिएका छन् । ‘अनुगमन समितिको प्रतिवेदन, प्राविधिकको रिपोर्ट, काम भएको स्थान र त्यहाँ काम गर्दाको बेला भएको मेहनत सबै कुराको आधारमा रकम भुक्तानीको लागि सिफारिस दिएको हो । जति हुनुपर्ने थियो त्यति काम पनि भएको छ । राजनीतिक हिसावले मलाई कमजोर बनाउन अख्तियारको सहायता लिएर निर्वाचनको बेलाको रिस अहिले म माथी प्रहार भएको भन्ने बुझेको छु’, वडाअध्यक्ष तामाङ भन्छन्–‘गलत गरेका छैनौं, फेस गर्न जान्छौं ।’
सडक निर्माणको क्रममा डुण्डुरेखोलाबाट खच्चडको प्रयोग गरेर ढुंगा बोक्नुपर्ने बाध्यता, डोजर संचालनको लागि सदरमुकाम धादिङबेसीदेखि इन्धन पु¥याउदा लाग्ने खर्च लगायतले गर्दा सुगम स्थानमा जस्तो थोरै पैसाले धेरै काम गर्न कठिन हुने भएपनि काम गर्ने क्रममा कतै कमजोरी नभएको तामाङको भनाई छ ।
तामाङ राप्रपाबाट वडाअध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । स्थानीय तह लागुभएदेखिको दुबै कार्यकाल उनी वडाअध्यक्ष छन् । स्थानीय तह दोश्रो निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको गठबन्धनलाई जितेर वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सत्तामा रहेकाहरुको बहुमतले गाउँ अधिवेशनबाट मनोमानी ढंगबाट पास गर्न लागेको नीति तथा कार्यक्रम, विभिन्न विद्यालयहरुको शिक्षक नियुक्तीको विषयमा हुने राजनीतिक भागबण्डा लगायतका विषयमा वडाअध्यक्ष तामाङले चर्काे विरोध जनाउँदै आएका छन् ।