धादिङ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले रुवीभ्यालीको रुवी, जस्ता र तामा खानीको संभाव्यता अध्ययन गरिने बताएकी छन् ।
आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले खानी विभागबाट विज्ञसहितको टोली ल्याएर उद्योग संचालनको समेत संभाव्यता अध्ययन गर्ने बताएकी हुन् ।
उद्योग धन्दा संचालनको लागि सिन्धुली, सिन्धुपाल्चोक र धादिङ लगायतका जिल्लाका खानीहरुमा खानी विभागको विज्ञहरु ल्याएर संभाव्यता अध्ययन गरी लगानी आव्हान गरेर उद्योग संचालनको प्रकृया अगाडि बढाउन आफु सकारात्मक ढंगबाट लागिरहेको बताइन् ।
धेरै वर्षदेखि दर्ता भएर बसेको कम्पनीहरुको अवस्था बुझ्ने, ठाउँ मात्रै ओगटेर बसेका कम्पनीहरुलाई खारेज प्रक्रियामा लाने र विभिन्न बाधा अड्काउ फुकाएर नयाँ दर्ता प्रकृया सुरु गर्न समन्वय गर्ने पनि उद्योगमन्त्री तामाङले विश्वास व्यक्त गरिन् ।
धादिङ आएको बेला मन्त्री तामाङले मालपोल, नापी, उद्योग वाणिज्य लगायतका कार्यलयको पनि निरिक्षण गरेकी छन् । निरिक्षणको क्रममा मालपोत कार्यालयमा श्रेस्ताहरु अस्तव्यस्त देखिएकोले सुधार गर्न निर्देशन दिएकी छन् । छिटो छरितो ढंगबाट विना झन्झट सेवा दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको र सुधार नगरे कानुनी कारबाही अगाडि बढाउने मन्त्री तामाङले बताइन् ।