सरिता श्रेष्ठ –
हरेक वर्षको तीज महिलाहरुका लागि विशेष हुने गर्दछ । अझ भनौँ चाडपर्वमा महिलाहरुको उपस्थिति नगन्य मात्रामा देखिन्छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षको तीजको रौनकता नेपाली बजारमा छाइसकेको छ । सहरबजारलाई मात्र होइन गाँउघरलाई पनि तीजले तरङगले छोपिसकेको छ । बजारमा आएका नयाँ नयाँ गीत संगीतहरु, थरी थरीका पहिरन, दर खाने कार्यक्रमले पनि तीजको रौनकतालाई अझ बढी हौसाएको छ । सहरी बजारदेखि लिएर गाँउ घरमा पनि छुट्टै रौनकता भित्रायाएको छ । तीजको उमङगले आमा, दिदी, बहिनी, भाउजू सबैको मनमा हाँसो ल्याएको छ । मुहार फेरिएको छ ।
तीज कहिले र किन मनाइने भन्ने यकिन तथ्य थाहा नभए पनि हरेक वर्ष महिलाहरु यसै समयमा तीजलाई मुख्य चाडको रुपमा अपनाई मनाउने गरको पाइन्छ । हिमालयकी शुपुत्री पार्वतीले भगवान् शीवजीलाई पतिका रुपमा प्राप्त गर्न निराहर व्रत बसेकी थिइन् । पानी पनि नखाई निराहर व्रत बसेर शीवजीलाई पाएको सम्झनामा हरेक वर्ष नेपाली महिलाहरु शीवजी जस्तै पति पाउन तीजमा व्रत बस्ने गर्दछन् । विशेषगरी अविवाहिताहरु शीवजी जस्तै पति पाउने आशमा व्रत बस्ने गर्दछ भने विवाहिताहरु आफ्नो पतिको दिर्घायु, सुरक्षा, शुस्वास्थ्य एवम् सन्तानको सुखको कामना गर्दै व्रत बस्ने गर्दछ ।
महिलाहरुको मात्र एकल चाड मानिने तीजमा महिलाहरु एकसुत्रमा बाँधिएर दुखसुखका वेदनालाई विर्सिएर हाँसो, खुसीमा रम्ने गर्दछ । टाढा टाढा रहेका दिदी बहिनी, आमा, भाउजू नन्द, आमाजू लगायत आफन्तजनहरुसँग भेटघाटको सुनौलो अवसर महिलाहरुले यसै बेला पाउने गर्छन । आफ्ना मनका वहहरुलाई एक आपसमा साटफेर गर्ने मौका पनि यसै समयमा हुने गर्दछ । यसले सारा नेपाली महिलाहरुमा खुसीयालीको आगमन पैदा भएको महसूस गर्न सकिन्छ । खासगरी विवाहिताहरुको माइतीसँग निकटता, अटुटता बनाइराख्न यसको खास महत्व रहेको छ । तीज पर्वलाई विभिन्न समुदायहरुले आ–आफ्नै शैलीमा मनाउने गरेको पाइन्छ । कसैले टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले दिन जाने चलन छ भने कतै श्रीमान. तथा घरपरिवारसँग नै मिलेर तीज पर्व मनाउने गरेको पाइन्छ । माइती पक्षबाट छोरीलाई दर पठाउने प्रचलन पनि रहेको छ । यस दिन नजिकै रहेका शीवको मन्दिर तथा शिवालयहरुमा पूजा गर्ने चलन छ ।
तीजमा महिलाहरुले लगाउने पहिरन तथा गरगहनाको पनि आफ्नो छुट्टै मौलिक संस्कार तथा संस्कृति रहेको छ । तीजको दिन लगाइने रातो साडी सुख, समृद्धि एव् साहसको प्रतिक मानिन्छ । रातो रंगलाई सौभाग्यको प्रतिकको रुपमा चिनिन्छ । रातो रंगले महिलाहरुलाई शक्ति प्रदान गर्ने धार्मिक विश्वास रहि आएको छ । पोतेले महिलाहरुलाई शान्ति र आनन्द प्रदान गर्दछ । चुराले एक सुत्रमा बाँध्ने काम गर्दछ । सोह्र श्रृंगार गर्दा आफूलाई छुट्टै आनन्द मिल्ने र विवाहको दिनको सम्झना दिलाइदिने धारणा छ । र तीजमा व्रत बस्दा महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका पाउँछ ।
आपसी प्रेम बढाउने यो पर्वमा तीजको अघिल्लो दिन १२ बजेर उठेर दर खाने चलन छ । तीजका दिन निराहर व्रत बसी नाचगान गर्ने भएकाले तीजको अघिल्लो दिनमा दर खाने प्रचलन रहेको हो । त्यस्तै तीजको दिन बिहानै उठेर नुहाई धुवाई गरी चोखो बस्ने गर्दछ । अनि राता पहिरन, चुरा, पोते तथा गरगहनामा सजिएर नजिकै रहेको शीवको मन्दिरहरुमा पूज ागर्न जाने चलन छ । यस दिन शीवका मन्दिरहरुमा पूज ागर्ने महिलाहरुको ठूलो घूइँचो लाग्ने गर्दछ । दिउँसो भरी तीजका गीतसंगीतमा नाचगाना गरी रमाइलो गर्ने प्रचलन चलि आएको छ ।
तीजको चौथीका दिन स्नान गरी पारायण व्रत गरेपछि खाना खानुपर्छ । त्यस्तै तेस्रो दिन ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरुले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नाना गर्ने गर्दछ । यसले शरीरमा भएका रोगहरुलाई केहि मात्रामा कमी गर्छ भन्ने प्रचलन छ । पञ्चमीका दिन अरुन्धती सहित कश्यप, अत्रि, भारद्धाज, विश्वामित्र, गौतम, जगदग्नि तथा वरिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात कर्कलाको तरकारीसँग खानुपर्छ । यो दिनमा आफ्नो श्रीमानको हातबाट बनाएको परिकार खाँदा आपसी सद्भाव, माया एवम् सद्भाव बढ्ने धार्मिक विश्वास गरिन्छ ।पहिले देखि चलिआएको संस्कृति परम्परालाई हामीले जोगाई राख्नुपर्छ तीजमा महिलाहरु आफ्ना सारा कुराहरुलाई विर्सीएर रमाइलो गर्छन् । महिलाहरुले लगाउने रातो, पहेलो, हरियो एवम् रंगविरङगी सजिएर रमइलो गर्दा वातावरण नै रमणिय भएको आभास गर्न सकिन्छ । तीजको उल्लास एवम् उमंगमा हरेक महिलाहरु खुसी हुन्छन् जीवनका सारा दुख र वेदनालाई विर्सन्छन् ।
तीजमा महिलाहरु व्रत बस्नु भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । श्रीमान्प्रतिको प्रगाढ माया, स्नेह र पारिवारीक सुखका निम्ति महिलाहरु विभिन्न चाडपर्वको अवसरमा व्रत बस्ने गर्दछ । वर्षको एक दिन दिएको यो व्रतले ३ सय ६४ दिनसम्म मिलेर बस्ने धैर्य प्रदान गर्दछ ।
पछिल्लो समय तीजका नाममा महिलाहरुले आफ्नो संस्कृतिलाई भुल्न गएको छ । तीज आउनु महिनै अगावै दर खाने कार्यक्रमको आयोजना गरि संस्कृतिलाई भाडभैलोको उपमा दिएको छ । यसले सारा नेपालीमा नैरास्यताको भाव उत्पन्न गराएको छ । त्यस्तै तीजका दिन गरगहना, पहिरनहरुको प्रर्दशन गर्ने, अर्काको देखासिखि गरी परिवारलाई आर्थिक भार बोकाउने गरेको पाइन्छ । यो संस्कृति प्रतिको अपहेलना हो । यसमा महिलाहरुले पनि विशेष ध्यान दिनु आवश्यक छ । चाडपर्वका नाममा अनेक विकृतिले भाबी पुस्तामा हुन सक्ने विभेदलाई महिलाहरुले कदापी भुल्नु हुन्न ।
हाम्रा हरेक संस्कार हाम्रै संस्कृतिसँग सम्बन्धित हुनुपर्छ । धार्मिक अस्तित्व, परम्परा, पहिचान र राष्ट्रिय गौरवसँग प्रत्यक्ष गाँसिएका हाम्रा चाडपर्वलाई संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यस्ता साँस्कृतिक धरोहरप्रति हामीले गर्व गर्न जान्नुपर्छ । अहिले हाम्रा चाडपर्वलाई अनेकौं विकृत परम्पराले गाँज्न थालेको छ । पूर्वजले हामीलाई पुस्तान्तरण गर्दै नासोको रूपमा सुम्पिएको तीज पर्व हिन्दू महिलाहरूले अपार श्रद्धा र भक्तिपूर्वक मनाउने पर्व हो तर यो पर्व आजभोलि विकृतिको सिकार बन्दै गएको छ । तीजको मर्म र धर्मविपरीतका गतिविधिहरू अहिले देख्नेका लागि लाज बनेका छन् भने समाजका लागि अभिशप्त बनेका छन् ।
तीज महिलाहरुको मात्र चाडको रुपमा चिनिन्छ । तर पनि बजारमा आएका हरेक तीजका गीतहरुमा पुरुषको आवाज सुन्न पाउँछौँ । तीजका नाममा अनेक थरी गीत संगीतले समाज प्रति भएको सामाजिक, धार्मिक एवम् साँस्कृतिक परम्परा तोडिन कुनै समय लाग्दैन । महिलाहरुले मनाउने विशेष चाडको छुट्टै महत्व भएपनि अनावश्यक गीतहरुले तीजलाई भड्किलो बनाएको अनुमान लगाउन सकिन्छ । अनेक प्रकारका शब्द चयनका गीतहरुले तीजलाई नकरात्मकतामा ढालेको छ । बजारमा आएका त्यस्ता गीतहरुलाई महिलाहरुले ठूलो ठूलो क्यासेटमा बजाएर नाच्ने गर्दछ । तीजमा महिलाहरु पानी पनि नखाई निराहर व्रत बस्ने गर्दछ । यो आफैमा गलत कुरा हो । महिलाहरुले आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर तीजमा व्रत बस्नु पर्छ । भौकै बसेर मात्र धर्म हुदैन । त्यसैले व्रत बस्दा पानी, फलफूल खादा धर्मका नाममा अपहोलन हुदैन । यी विविध कुराहरुलाई महिलाहरुले सुधारका बाटाहरु अपनाउनुपर्छ । समाजमा पर्ने असरप्रति महिलाहरुले पनि ध्यान दिनु जरुरी छ । आफ्नो मौलिक संस्कृति, सामाजिक मूल्य र मान्यतालाई जोगाएर राख्नु सम्पूर्ण महिलाहरुको अहोभाग्य हो । परिवर्तन प्राकृतिक नियम भएकाले यसलाई कसैले रोक्न सक्दैन तर पनि यस्ता कुराहरुमा महिलाहरुले पनि सीमारेखा खिच्न जान्नुपर्छ ।
समाजमा खेल्दै जाँदा भूमिकाहरु बहन गदै जाँदा समाजको यो स्वरूपमा चाडपर्वको पनि निकै अर्थपूर्ण ठहर हुन्छ । हामीले जगेर्ना गर्नुपर्ने धेरै कुरालाइ छन् । त्यसलाई गुमाएर पाएको यो उपलब्धीलाई त्यति गौण अर्थमा लिइनु हुन्न । परिवर्तनको नाममा आयातीत संस्कृतिलाई अङ्गीकार गर्दै गयौं भने भोलि हाम्रो मौलिक अस्तित्व खतरामा पर्नसक्छ । आफू हराइसकेको आफैल्लाई थाहा नहुन सक्छ । यी चाडपर्वहरू हाम्रा पूर्वजले हामीलाई सुम्पिएको पहिचान हो ।परम्परित सामाजिक व्यवस्थालाई परित्याग गर्न नचाहेकै कारण हाम्रो समाज धेरै पछिसम्म सामाजिक रूपान्तरणमा जान सकेन । हामी विश्वपरिवेशबाट निकै पछाडि धकेलियौं । अहिले विश्वसम्प्रदायले हामीलाई छोडेर धेरै अगाडि पुगिसकेको छ । विगत केही समयदेखि हामीे पनि मिश्रित सामाजिक व्यवस्थामा प्रवेश गरेका छौं । मिश्रित समाजको अहम उपलब्धी भनेको सामाजिक व्यवस्थालाई युगसापेक्ष बनाउनु हो । मिश्रित समाजले ल्याउने परिवर्तन भनेको समाजलाई विश्वसमुदायसँग मेल खाने गरी रूपान्तरण गर्नु हो ।
धर्मको आडमा बढिरहेको सामाजिक कुरिती, विकृतिलाई समयमै रोक्नु आवश्यक छ । नत्र विरुवाको जराजस्तै गरेर छरिएको कुसंस्कृतिको जति रमिता रचेपनि ठाँउको ठाँउ नै रहिरहन्छ भन्ने कुरामा दुईमत छैन । जबसम्म समाजको स्वरूप र परम्परित धारणामा परिवर्तन कहिल्यै हुन सक्दैन । हामीमा भएको पछौटे मानसिकता कहिल्यै पनि मुक्त हुन सक्दैनौं । यस प्रति सर्वसाधरण जनता र राज्यपक्षको आँखा गडिनु आवश्यक छ । होइन भने समाजले गलत बाटो मोड लिन कति बेर नी लाग्दैन ।
सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा तीजको शुभकामना……………..