
प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेको बताएका छन् ।
कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गरे ।
उनले भने, ‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वोच्चता सबैभन्दा माथि हुन्छ । व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढंगले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरल रूपमा सुविधा उत्पन्न होस् भन्नेमा छ । हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ । सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ ।’
प्रधानमन्त्री ओलीले ठूला दुई दल र अन्य सहयोगी दलको समर्थनमा संसदमा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरु समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने उद्घोष गरे ।
उनले भने, ‘तपाईँहरु ढुक्क रहनुहोला, यो सरकार भिजनसहितको स्थिर सरकार हो । यही बाटोमा यो सरकार अघि बढ्छ ।’
विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको उनले स्पष्ट गरे ।