
काठमाण्डौ – देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । अहिले झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित पानी परिरहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली उत्तरदेखि पूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।