
काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सांसद कोषको कुरा भइरहने बताउँदै सांसदलाई कोष नभई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।
उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष बितिसक्दा पनि पाइपको अभावले जनताले अझै पानी खान नपाएको उदाहरण दिँदै यस्ता कैयौँ समस्या रहेको बताए । उनले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूको मूल्याङ्कन, अनुगमन र बजेट अभावका सन्दर्भमा सम्बन्धित मन्त्रालयको पर्याप्त सहयोग नपाएसम्म शृङ्खलाबद्ध रूपमा विकास अगाडि बढ्न नसक्ने बताए ।
उनले भने, ‘सांसद कोषको कुरा हुने गर्छ, सांसदलाई फन्ड होइन, अधिकार सम्पन्न बनाउनु हो । कुनै सांसदले आफ्नो क्षेत्रका अधुरा प्रोजेक्टहरू पूरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाइनुपर्छ । ट्याङ्की बनेको १० वर्ष भयो, तर पाइपको अभावले जनताले पानी खान सकेका छैनन् । तर त्यो कुरा सांसदको जिम्मेवारीमा पर्दैन। निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरू — चाहे त्यो स्थानीय, प्रदेश वा सङ्घीय तहकै होस् — मूल्याङ्कन, अनुगमन नगर्ने हो र बजेट अभाव भएमा सम्बन्धित मन्त्रालयहरूले हात बलियो नपार्ने हो भने शृङ्खलाबद्ध ढङ्गमा विकास प्रक्रिया अगाडि बढ्न सक्दैन ।’