२३ असोज, धादिङ – युरोकप २०१६ का लागि स्पेन र स्वीजरल्याण्ड छनौट भएका छन् । शुक्रबार राति भएको आ–आफ्नो खेलमा जित निकाल्दै स्पेन र स्वीजरल्याण्डले युरोकपका लागि स्थान पक्का गरेका हुन् ।
स्पेनले लग्जेम्बर्गलाई ४–० ले हरायो । ४२ औं मिनेटमा सान्टी काजोलाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । ६७ औं मिनेटमा पाको आलकेसरले अग्रता दोब्बर पारे । ८० औं मिनेटमा आलकेसरले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता ३–० मा पुर्याए । त्यसको पाँच मिनेटपछि काजोलाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को जित दिलाए । स्पेन समुह सीको विजेताको रुपमा युरोकपका लागि स्थान बनाएको हो ।
यस्तै शुक्रबार राति नै भएको खेलमा सन मारिनोलाई ७–० ले हाउँदै स्वीजरल्याण्ड पनि युरोकपमा प्रवेश गरेको छ । समुह इमा रहेको स्वीजरल्याण्ड समुह उपविजेताको रुपमा युरोकपमा स्थान बनाउन सफल गएको हो ।
शुक्रबार राति भएका अरु खेलमा युत्रेनले मेसेडोनियालाई २–०, बेलारुसले स्लोभाकियालाई १–०, रुसले माल्डोभालाई २–१, अस्ट्रियाले मन्टेनेग्रोलाई ३–२ तथा स्वीडेनले लिकटेन्स्टाइनलाई २–० ले हरायो । स्लोभेनिया र लिथुवानियाले १–१ को बराबरी खेले । अहिलेसम्म ९ राष्ट्रले युरोकप २०१६ का लागि स्थान पक्का गरेका छन् । स्थान पक्का गर्नेमा स्पेन, स्वीजरल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, आइसल्याण्ड, नर्दन आयरल्याण्ड, पोर्चुगल र फ्रान्स छन् ।