१३ कात्तिक, काठमाडौं – सरकारले विदेशमा घरेलु कामदार पठाउन ४९ वटा म्यानपावर कम्पनी छनौट गरेको छ । म्यान पावरको आवश्यक कागजात छानविन गरि मुल्यांङ्कन समितिले यी संस्था छनौट गरेको हो ।
तर वैदेशिक रोजगार विभागले मन्त्रालयसँग परामर्श गरी प्रत्येक वर्ष संस्थाहरु थपघट गर्न सक्नेछ । छनौटमा परेका कम्पनीले पेश गरिएका कागजात झुटो ठहरिए र समयमा नविकरण नगरे विभागले घरेलु कामदार पठाउनबाट बञ्चित गर्नेछ ।
यसअघि श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा घरेलुकामदार पठाउने सम्बन्धी निर्देशीका २०७२ जारी गरी घरेलु कामदार पठाउनका लागि म्यानपावर कम्पनीलाई सूचिकृत हुन आव्हान गरेको थियो ।
घरेलु कामदारको श्रम स्वीकृतिलाई पारदर्शी र व्यवस्थित गर्न तथा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक भएको ठहर गर्दै सरकारले निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग घरेलु कामदारको सम्बन्धमा दुई पक्षीय श्रम संझौता वा समझदारी गरेर मात्र वैदेशिक रोजगारमा कामदार पठाउनेछ ।
यस किसिमको व्यवस्था नहुन्जेल बढिमा एक वर्ष सम्मका लागि गन्तव्य मुलुकको एजेन्सी र नेपालको सूचीकृत संस्थाबीचको संझौता बमोजिम घरेलु कामदार पठाउन सकिने निर्देशिकामा उल्लेख छ । छनौट भएका संस्थाहरुलाई थप पच्चीस लाख रुपैयाँ धरौटी खातामा जम्मा गरी सात दिन भित्र सूचीकरणको प्रमाणपत्र लिन आउन विभागले सूचना जारी गरेको छ ।