Mon. May 17th, 2021

नेपाली धावकले फेरी जिते अक्सफाम ट्रेललवाकर हङकङ

मंसिर १, हङकङ  – यहाँको प्रतिष्ठित अल्ट्रादौड ‘अक्सफाम ट्रेलवाकर’ नेपाली धावकहरूको समूह ‘टिम कोलम्बिया-नेपाल’ ले जितेको छ । गतवर्ष समेत नेपाली टोलीले नै यो दौड जितेको थियो ।

४८ घण्टा समय सिमा तोकिएको एकसय किलोमिटरको समूह दौड यिनले ११ घण्टा ५६ मिनेटमा पुरा गरेका हुन् । दोस्रो हुने ‘कोनभोए कस्मोबोइज टिम’ ले १२ घण्टा ३८ मिनेटमा उक्त दूरी तय गरेको थियो ।

प्रतियोगितामा ३० बढी मुलुकका १३ सय टिमका ५,२०० धावक सहभागी थिए । नेपाली टोलीमा उत्तम खत्री (टिम कप्तान), भिमबहादुर गुरुङ, राम भण्डारी, किरण कुलुङ र  सुमन कुलुङ (वैकल्पिक खेलाडी) थिए ।

किरण र सुमन बाहेक तीनैजना नेपाली सेनाका  हुन् । गतवर्ष यही नेपाली टोलीले १० घण्टा ५८ मिनेटमा दौड पुरा गरी किर्तिमानी जित रचेको थियो ।

त्यसअघि फ्रेन्च टोलीको ११ घण्टा १२ मिनेटको किर्तिमान थियो । प्रतियोगितामा स्टार्टिङ, चेक प्वाइन्ट र फिनिसिङमा सबै खेलाडी एकैपटक पुग्नुपर्ने नियम छ । यसपटक नेपाली टोलीलाई कडा टक्कर दिनसक्ने अरु नभएकाले पनि गतवर्षभन्दा एकघण्टा ढिलो भएको टिम मैनेजर रमेश भट्टचनले बताए । खेलकुद सामाग्री उत्पादन गर्ने विश्वप्रसिद्ध अमेरिकी  कम्पनी कोलम्बियाले नेपाली टोलीलाई प्रायोजन गरेको थियो ।

 

साइ कुङ पाक ताम चुङबाट शुक्रबार विहान करिब ९ बजे सुरु भएको दौड अप्ठ्यारा पहाडी मार्ग हुँदै युङ लङ ताइ तोङ होलिडे क्याम्प पुगी टुंगिएको थियो । प्रतिष्ठित प्रतियोगितामा लगातारको सफलताले देशकै गौरब बढाएको मैनेजर भट्टचनले बताए ।

सरकार र नीजि क्षेत्रको आर्थिक सहयोग नहुँदा भने विदेशी कम्पनीको प्रायोजनमा भर पर्नु परेको उनको भनाई थियो । परोपकारी अभियान भएकाले आयोजक अक्सफाम द्वारा खेलाडीलाई नगद पुरस्कारको व्यवस्था नभएपनि प्रायोजकका तर्फबाट प्रोत्साहन रुवरुप पचास हजार हङकङ डलर (करिब ६ लाख ३५ हजार रुपैयाँ) दिने प्रतिबद्धता व्यक्त भएको भट्टचनले बताए । यसै प्रतियोगितामा नेपाली टोली यसअघि समेत पटक-पटक विजयी भएको छ । सन् १९८६ यता ८१ हजार बढी धावकले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

लामो इतिहास बोकेको ट्रेलवाकर हङकङमा कार्यरत ब्रिटिस गोर्खाली सेनालाई तालिम दिने उद्देश्यले सन् १९८१ मा सुरु गरिएको थियो । गोर्खाली सेनाले नै आयोजना गर्दै आएको अल्ट्रा दौडलाई सघाउन सन् १९८६ देखि परोपकारी संस्था अक्सफाम सह-आयोजकका रुपमा भित्रिएपछि सबैका निम्ति सहभागिता खुला गरिएको हो ।

१९९७ मा बेलायत अधिनस्थ हङकङ चीनलाई हस्तान्तरण भएपछि अक्सफामले नै प्रतियोगिताको  आयोजना गर्दै आएको छ । ‘गरिबी तथा जलवायु परिवर्तनका विरुद्ध १०० किलोमिटर ट्रेकिङ’ नारा दिएर अक्सफामले यो प्रतियोगितालाई आर्थिक सहयोग जुटाउने अभियानका रुपमा अघि बढाएको छ । च्यारिटी दौडबाट अक्सफामले यसवर्ष ३ करोड १० लाख हङकङ डलर संकलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतियोगिताको आयोजनाबाट अहिलेसम्म ४ अर्ब २ करोड हङकङ डलर बढी संकलन गरिसकिएको छ । ‘अक्सफाम ट्रेलवाकर’ हङकङ लगायत ११ मुलुकका १६ सहरमा आयोजना हुँदै आएको छ । अक्सफामले  नेपाल, चीन लगायत एसियाली तथा अफ्रिकी गरी ७० बढी मुलुकमा गरिबी उन्मूलन तथा आपतकालिन परियोजनाहरूमा सघाउ पुर्‍याउँदै आएको छ ।

Loading...

अन्य समाचारहरु: