Sun. Sep 8th, 2024

भरियाबाट लेखिका

काठमाडौं :  कापीकिताब बोकेर विद्यालय जाने उमेरमा भरिया एवं कुल्ली काममा उमेर गुजारेकी लाक्पाफुटी शेर्पा अहिले लेखिका बनेकी छन्। औपचारिक शिक्षाको रूपमा चार महिनामात्र विद्यालय जाने अवसर पाएकी उनले भरिया, कुल्लीबाट भान्सेहुँदै टुरिस्ट गाइडको रूपमा काम गर्ने अवसर पाइन्। तिनै अनुभव सँगालेर आत्मवृत्तान्त ‘हिमालमा चालीस वर्ष’ पुस्तक पाठकमाझ ल्याएकी हुन्।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिकी सदस्यसचिव लाक्पाफुटीले हिमालको काखमा बिताएका आफ्ना अनुभवलाई कृतिमा उतारेकी छन्। पुस्तकको आइतबार सभामुख सुवासचन्द्र नेम्बाङले दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विमोचन गरेका हुन्। ‘शेर्पा समुदाय हिमालका संरक्षक हुन्’, पुस्तक विमोचनपछि सभामुख नेम्बाङले भने, ‘शेर्पा समुदाय नभएको भए सगरमाथा र अन्य हिमालका थुप्रै चुचुरा विदेशीले चढ्ने थिए तर नेपालीले चढ्न सक्ने थिएनन्।’
कार्यक्रममा अलि रसिक शैलीमा प्रस्तुत भएका नेम्बाङले लाक्पाफुटीको क्षमताको व्याख्या गर्न भुलेनन्। हिमाललाई परैबाट देखेका उनले लाक्पाको किताब पढेपछि हिमाल चढेको अनुभव गरेको बताए। ‘शेर्पा नै हुन् जसले नेपालको शिर सगरमाथा जोगाएको छ’, उनले थपे।
पुस्तकमा शेर्पाले जीवनका सुख, दु:ख र सफलताको यात्रा वर्णन गरेकी छन्। सरकारी ओहोदामा बसेर काम गर्दा आठ मन्त्री र सात सचिव फेरिइसके तर उनी फेरिएकी छैनन्। हिमालको काखदेखि पुस्तक तयार गर्दासम्मको यात्रा उनको लागि सामान्य थिएन।
पासाङ ल्हामु शेर्पाको सहयोगी भएर सगरमाथा चढ्दादेखि, विश्वका विभिन्न ठाउँ घुमेको अनुभव उनले पुस्तकमा प्रस्तुत गरेकी छन्। पहिलो पटक सगरमाथा चढ्दादेखि जीवनका अनगिन्ती भोगाइलाई उनले डायरीमा केरेकी थिइन्। तिनै अनुभवलाई तीन सय ७२ पेजको पुस्तकमा पाठकमाझ ल्याएकी हुन्।

About The Author

अन्य समाचारहरु: