म्याग्दी– म्याग्दीमा सङ्कटापन्न अवस्थामा रहेको जङ्गली जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ ।
विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा म्याग्दीमा हाब्रे भेटिएको हो ।
लुलाङ गाविसको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदी गाविसको जङ्गलमा हाब्रे भेटिएको रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार लजालु स्वभावको वन्यजन्तु मानिने हाब्रेको दिसा भेटिएका आधारमा बसोबास रहेको पुष्टि भएको हो । चौडापाते जङ्गल र निगालोको झाडीमा बस्ने हाब्रेलाई स्थानीयबासीले ‘ओक्रा’ र ‘वन कुकुर’ भन्ने गरेका छन् ।
समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा १० देखि २५ डिग्री सेल्सीयस तापक्रममा बसोबास गर्ने हाब्रेलाई सरकारले सालकपछिको दोस्रो सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ र बागलुङ जिल्लामा पनि रेडपाण्डाको बसोबास रहेको भेटिएको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रेडपाण्डाको बसोबास रहेको पुष्टि भएपछि यसको संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।
निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार रहेको अनुमान गरिएपनि २३७ वटाको मात्र पहिचान भएको छ । विश्वमा नेपाल, चीन, भारत, जापान र म्यान्मारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा ‘एलुरेन्स फ्युजन्स’ जातको हाब्रे रहेको छ । नेपालका २४ जिल्लामा हाब्रे पाइने विश्व वन्यजन्तु कोषले जनाएको छ । रासस