Wed. Dec 4th, 2024

दर्शन, राजनीति र यूवा

devi adhilakri
देवीप्रसाद अधिकारी

दर्शन विज्ञानको विज्ञान हो । मानव मात्रामा विवेक दर्शनले भर्छ । भनिन्छ, दार्शनिक सर्वदा विवेकलाई माया र आत्मसात गर्दछ । अनुभव विनाको विवेक दिदी बहिनी नभएको तिहार (भाइटीका) हुन्छ । अनुभव हुदैमा विवेक हुन्छ भन्ने पनि सधै सत्य हुँदैन । धेरै अनुभवीहरु विवेकहीन भएका छन् । विवेक मानवियता भित्रको एउटा पाटो पनि हो । दर्शन र विवेक छुट्टिन र छुट्याउन मुिस्कल पर्छ । एकले अर्कोको आधार तयार पार्दछ । सधै सत्य नभए पनि हरेक दार्शनिक विवेकशील हुन्छ । विवक शुन्य मान्छेहरु दार्शनिक मान्न सकिदैन । अपवाद बाहेक यस्ता मान्छेहरु नेपालमा राजनितीमा प्रबल रुपमा हाबी छन् । जो आफु भन्दा फरक मत स्वीकार्न सर्बदा सक्दैन । नेपाली राजनीतिमा यो विउ सम्भवत राणाकालिन अधिनायकबादबाट रोपिएको हुनु पर्दछ । यसैलाई सामान्तवादको जग मान्न सकिन्छ ।
राजनीतिमा दर्शन, दर्शनमा राजनीति मिलाई रहनु नपर्ने हो । यी आफैमा अन्योन्याश्रीत सम्बन्ध स्थापित गर्दछ । कुनै सफल राजनीतिज्ञ संसारमा सायदै दर्शन नबुझेका होलान् । उनीहरु दार्शनिक नै नभए पनि दार्शनिक भाव भने स्पष्ट राख्दछ । आफ्नो वा कुनै दर्शन स्थापित गरेरनै नेताहरु राजनेता हुन्छन् । जसले अनन्त कालसम्म आफ्ना विचार मुल्य र मान्यतालाई स्थापित गर्न गराउन सफलता प्राप्त गर्दछन् । दर्शन विनाको राजनीति पानी विनाको नदी हुन्छ । केवल बगरले कुनै पनि जमिन सिंचित गर्न सक्दैन । सिंचाइ विनाको उब्जनि कतिसम्म आस गर्न सकिन्छ र ? यस्तै हो नेपाली राजनीति सिंचाइ विनाको खेती जस्तै ।
राजनीतिमा दर्शन जबरजस्ती ल्याउन सक्ने कुरो भएन । राजनीति जस्ताले पनि गर्न सक्ने भो तर दर्शन बुझन विवेक आवश्यक हुन्छ । विवेक प्राप्त गर्न ज्ञान चाहिन्छ । ज्ञान अनुभव र सिकाइबाट प्राप्त गर्न सकिन्छ सिकाइ हुन सिकारुमा तत्परता आवश्यक पर्दछ । यो सिकाइ गर्न, ज्ञान लिन नै हाम्रा नेताहरुमा तत्परता छैन । केवल आफ्नो भजन मण्डली र झुण्डासँगै रम्दैमा हाम्रा नेताहरुसँग सिक्ने, ज्ञान लिने, अनुभव गर्ने, विवेक हाँसिल गर्ने, दर्शन बनाउने, बुझ्ने समय मिलाउन चुक्दछन् । ती झुण्डाहरुमा विशेषत यूवा नै हुन्छन् । जस्ले जीवनको उर्जाशील समय व्यतीत गरिरहेका हुन्छन् ।
यूवा उमेरले भन्दा पनि जोश जाँगर उर्जा, छरितोपन आदि परिभाषित गर्नु पर्ने पदावली हो । एउटा वयस्क मान्छेमा यी गुणहरु छैनन भने कसरी युवा भन्ने । हो हाम्रो राजनीतिमा यी सबै गुणले भरिएका युवा छन् । तर तिनीहरुमा पनि नेतामा जस्तै सिकारु हुने सिक्ने अभिरुचि पटक्कै छैन । दर्शनको बाटोमा तिनीहरुको पाइला मुखरीत छैनन् । आफ्नै अविवेकी नेताज्यू,को गुणगान र  भजनमा मात्र सिरक छन् । आफ्नै जिन्दगीको लक्ष्य पहिचान गर्न न आफू लागि पर्दछन् न अरुले देखाएको सत्मार्गको सराहना गर्दछन् । राजनीतिमा लागेका यूवा त केवल अन्धाधुन्ध गुट निर्माण गर्दैछन् । उपगुटका  बीउ रोप्दैछन् । बीउ रोप्नु नराम्रो छैन तर एउटै ड्याङमा हजारौँ मूला हुर्कन सक्दैन ।
देशको राजनीति समग्रमा यूवाको जोश, जाँगर, उर्जा र नेताको विवेक, ज्ञान, दर्शनले चल्ने हो । यसरी अगिवदेको राजनीतिमा मात्र सफलताको पक्ष दर्बिलो बन्दछ । अन्यथा राजनीतिको लागि राजनीति मात्र हुन्छ । ज्ञान, विवेक, दर्शन बिनाको नेताले राजनीति गरेर समाज, देश बताउँछ । भन्नु काफलको काफलको बोटमा ऐशेलु खोज्नु बराबर हो । त्यसैले राजनीतिमा लागेका, लाग्न चाहने तमाम यूवाहरुले ज्ञान, सीप, विवेक हाँसिल गर्नु जरुरी छ । जुन सिकाइबाट मात्र सम्भव छ । त्यसैले सिकाइमा तत्परता देखाउँदै आफूलाई राजनीतिमा होम्नु भन्दा पहिले एउटा दर्शन आत्मसात गर्नु अपरिहार्य हुन्छ ।

About The Author