Fri. Feb 14th, 2025

राष्ट्रवादको झ्याउरे गीत र मधेस

सुदर्शन खतिवडा –

sudarsan khatiwadaअहिले पनि कतैकतै भित्तामा माओवादीले लेखेको जातिय मुक्ति र आत्मनिर्णयको अधिकारको नाराहरुको डोब भेटिन्छन् । जनयुद्धमा जानेबेला एमाओवादीले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय उत्पीडनको स्वरुपहरु विद्यमान रहेको किटान गरेको थियो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक, समावेशी प्रतिनिनिधित्वको कुरा सुरुमा कसैको लागि पाच्य थिएन । बिस्तारै माओवादी जनयुद्ध र जनआन्दोलनको जगमा यी नाराहरु स्थापित भए । जब अन्तरिम संविधान बन्ने भयो, त्यतिबेला एमाओवादीले संघीयताको नारा स्थगित गर्यो । कांग्रेस, एमालेले त यसलाई बोक्ने कुरा नै थिएन । यही नारा बोकेर मधेस आन्दोलन भयो, गौर हत्याकाण्ड भयो र मधेसमा क्षेत्रीय पार्टीहरु जन्मिए ।

समय फेरियो, केही महिना अघि जब कांग्रेस र एमाले सरकारको नेतृत्वमा थिए । माओवादी प्रमुख प्रतिपक्षको रुपमा थियो । एमाओवादीलाई आन्दोलन गर्नुथियो । उसले मधेसी दलहरुलाई साथ लियो, एमाओवादीका अध्यक्षले आन्दोलनकारीको नेतृत्व गरे । लामो सयमसम्म आन्दोलनको अभ्यास भयो । देशभरीबाट कार्यकर्ता काठमाडौंमा थुपारियो । टुँडिखेलबाट प्रचण्ड गर्जिए, ‘म मर्न तयार छु, तर मधेसको मुद्दा छाड्दिन । म यसपटक बलियोसँग खुट्टा टेक्छु ।’

प्रचण्डले मधेसी मोर्चाहरुसँग सहकार्य गरेर कांग्रेस–एमाले गठबन्धन सरकार ढाल्ने सोचेका थिए । यो सफल भएन । आन्दोलन उठेन । प्रचण्डले धैर्य गर्न सकेनन् । उनी एकाएक कित्ता फेरेर कमल–केपी गठबन्धनतिर हामफाले । अनि सँगसँगै गठबन्धनमा उत्रिएर आन्दोलनमा लागेकाहरुलाई राष्ट्रघातीको आरोप लगाउन थाले । तर अहिले मधेसमा जुन नारा लिएर मानिसहरु आन्दोलनमा उत्रिरहेका छन्, यसपटक पनि अन्तरिम संविधानमा जस्तै एमाओवादीले नै जगाएर, संगठित गरेर छाडेका मधेसी दलहरु र एजेन्डालाई बोकेर आन्दोलन भयो । कसैले विश्वास नगरेको, दुईचार दिन पनि नटिक्ला भनेर सोचिएको, व्यवहार गरिएको आन्दोलनले सवासय दिन पुग्न लाग्यो । मुलुक अस्तव्यस्त भयो ।

तर अहिलेसम्म न एमाओवादीको नेतृत्वले हिजो जनतालाई वर्गीय, जातिय, क्षेत्रीय, लिंगिय मुद्दा उठाएकोमा, यसको पक्षमा जनतालाई संगठित गरेकोमा माफी पनि मागेको छ, न यसलाई बलियोसँग समातेको छ । यदि जनता नजागेको अवस्था हुन्थ्यो भने एमाओवादीका केही नेतृत्व अहिले स्थापित एजेण्डाबाट धेरै पछाडि फर्कन पनि बेर लगाउँदैन्थ्यो भन्ने आशंका गर्ने ठाउँ यहाँ जन्मन्छ । पहिलो मधेस आन्दोलन र जारी मधेस आन्दोलनको एजेन्डा भनेको माओवादी जनयुद्धको एजेन्डा हो, तर जब माओवादीले यो एजेन्डालाई बलियोसँग समाउन सकेन, तब जातिय, क्षेत्रीय पार्टी र मोर्चाहरुले यसलाई समातेर आन्दोलन गरे । अहिले मधेसमा जे भइरहेको छ, विद्रोहलाई खेलवाड बनाउने माओवादीहरुकै कारण भइरहेको छ । विद्रोहको झण्डालाई उठाएर अन्तिम क्षणसम्म अडिग रहननसक्दा मुलुक कसरी तहसनहस हुनसक्छ, त्यो हेर्न अब अफ्रिकन देशहरु घुम्न जानु नपर्ने भयो ।

त्यसो त संविधान बन्नु भन्दा अगाडि पनि जनयुद्ध र जनआन्दोलनलगायतका अन्य फुटकर आन्दोलनहरुले जगाएको जनताको मतलाई नसुनीकन बलजफ्ती गर्दा देश भयंकर चक्रब्यूहमा फस्ने अनुमान गरिएको थियो । त्यतिबेला यस्तो अनुमान गर्नेलाई नै राष्ट्रघातीको संज्ञा दिइयो । अहिले देशको नेतृत्वमा कुनै बेला परिवर्तनको नाराहरुलाई मन नपराउने मानिसहरु अहिले नेतृत्वमा छन्, अनि उनीहरुसँगै कम्मर जोडेर उभिएका छन् क्रान्तिका ‘नायक’हरु पनि । यही गठबन्धनले देशमा आँखा पिरो हुनेगरी राष्ट्रवादको धुँवाले धुमिलो भएको छ । यहाँ को राष्ट्रवादी र को राष्ट्रघाती भन्ने बहस भएको छ र मानिसहरु अन्धाधुन्ध अनुमानका हवाईफायर गरिरहेका छन् । तर यसको अन्तर्यमा धेरै घातक खेलहरु भइरहेका छन् । सबैभन्दा डरलाग्दो कुरा त यी सबै खेलहरु समग्र देशको हितमा भन्दा पनि कुनै पार्टी, व्यक्ति र गुटको स्वार्थमा केन्द्रित छ । हुन त, यी सबै कुराहरु राष्ट्रवादको भ्रामिक कुहिरो फाटेपछि एकपछि अर्कोगरी पटाक्षेप हुनेवाला नै छ ।

नेपालमा राष्ट्रवादका मुलतः तीन किसिमका अभ्यासहरु भइरहेको पाइन्छ । एउटा महेन्द्रीय राष्ट्रवाद, जसको अन्तर्यमा महेन्द्रमालादेखि माटो र सीमानाको महिमा हुँदै १९६५ को सन्धिदेखि कालापानीसम्म भारतलाई सुम्पने कथाहरु पनि जोडिएको पाइन्छ । यस्तै दोस्रो मोडेलमा भारतका विरुद्ध सुरुङ युद्धदेखि लडेरै हराउने अमरसिंह थापाहरुको लाइन देखिन्छ । तेस्रो लाइन भनेको दिनभरी राष्ट्रवादका नारा, रातपरेपछि शक्ति केन्द्रसँग लम्पसार पर्ने प्रवृत्ति देखिन्छ । जसको अभ्यास अहिले नेपालका प्रमुख दलका नेताहरुले गरिरहेका छन् । यहाँ सम्झनुपर्ने कुरा के छ भने अहिलेसम्म जति पनि भारतसँग राष्ट्रघाती सन्धि सम्झौताहरु भएका छन्, यी सबै पहाडे दौरा सुरुवाल लगाउने तथाकथित राष्ट्रवादीहरुले नै गरेका छन् । महाकाली सम्झौताको बेला हस्पिटलको बेडमा सुतेका सांसदलाई पनि घिसारेर भोट हाल्न लैजाने केपी ओलीले अहिले यही राष्ट्रवादको नेतृत्व गरिरहेका छन् ।

तर, देशको रणनीतिक अवस्थितिलाई नियालेर दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध बनाउँदै आर्थिक विकास गर्नको लागि उपयुक्त राष्ट्रवाद भनेको प्रगतिशील राष्ट्रवाद नै हो । त्यो भनेको भारत र चीनको अथाह सम्भावनालाई उपयोग गर्दै आर्थिक विकास र समृद्धिको लाइन हो । दुई हप्ता दुष्ट छिमेकीले नाकाबन्दी गर्दा दाउरा लिन पनि लाइन बस्नुपर्ने अवस्थामा राख्ने नेताहरुको चर्को चर्को राष्ट्रवादको झ्याउरेबाट अब जनता ब्युँझनुपर्ने बेला भएको छ । देश र जनता बलियो भयो भने नारा लगाउनु नै पर्दैन । बेरोजगार र गरिबीमा टेकेर राष्ट्रवादको नारा लगाउँदै औंलामा गन्न सकिने मानिस रातारात मालामाल हुने परिपार्टीका अन्त्य नै आजको आवश्यकता हो । मधेसलगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न हामी सबै जुटौं ।

About The Author